‘राम्रो व्यापार बाख्राको छ, फाइदा पनि राम्रो हुन्छ ।’
बाँदरको चक्करमा लाग्दा परेको नोक्सानको समिक्षा भेलामा बाख्रा व्यापारमा लाग्ने सहमति गाउँलले जुटाए ।
सहमति अनुसार अलि टाठो बाठो भएका कारण बाख्रा व्यापारको नेतृत्व श्यामले लियो ।
‘गाउँमा भएका सबै बाख्रा शहरमा बिक्रि गर्न लैजानु पर्छ, सबै मिलेर हामीले ५ हजार रुपैंयाका दरले गाउँका बाख्रा किन्नु पर्ने भयो । शहरबाट यस्तो माग आएको छ ।’
‘के भन्छ यो श्यामे, गाउँमा ३ हजार रुपैंयामा बाख्रा नबिकेर हैरान भएका बेला ५ हजारमा बाख्रा किन्छु भन्छ ।’ दिलेन्द्रले संगै उभिएको रामबीरलाई भन्यो ।
दिलेन्द्रको कुरामा सहमती जनाउँदै रामबीर पनि बाख्रा खोज्न गाउँ पस्यो । उनीहरुसंगै सबै जना बाख्रा खोजेर केही दिनमा श्यामलाई भेट्न आए ।
‘५ हजार दिन्छु भन्थिस्, हामीले २ सय १० वटा बाख्रा ल्याएका छौं ।’ खुसी हुँदै गाउँलेले श्यामको ध्यानाकर्षण गराए ।
श्यामसंगै बसेको शहरबाट गएको बाख्रा व्यापारीले गाउँलेको बोली भुँईमा खस्न नपाउँदै ५ हजारका दरले पैसा बाँड्न थाल्यो ।
‘वाह श्यामकुमार वाह तैले हाम्रो लागि राम्रो काम गरिस ।’ सबैको अनुहारमा खुसी झल्कियो ।
नयाँ अनुहारको बाख्रा व्यापारी केटाको भनाई बमोजिम श्यामले फेरि गाउँलेलाई ७ हजार रुपैंयाका दरले बाख्रा ल्याउन भन्यो । अनि आफु पनि बाख्रा खोज्न गाउँलेसंगै गाउँ पस्यो ।
गाउँमा बाख्रा भेटिएनन् । अर्को गाउँ चाहारेर सबैले एक सय पन्ध्र वटा बाख्रा ल्याएर शहरिया केटालाई बेचे ।
केटोले १३ हजार रुपैंयाका दरले फेरि बाख्रा ल्याउन श्यामकुमार मार्फत गाउँमा हल्ला पिटायो ।
एक कान दुई कान मैदान भए पछि सबैको समस्या एउटै थियो । ‘बाख्रा छैनन् त कसरी ल्याउने ?’
श्यामलाई समस्या समाधान गराउने निर्णय सहित सबै त्यहाँ पुगे ।
‘व्यापारीसंग भएका सबै बाख्रा उसले थाहा नपाउने गरि म बेच्छु १० हजार रुपैंयाका दरले । त्यस लगत्तै सबैले उसलाई १३ हजारका दरले बाख्रा बेचे हुन्न ?’ सुटुक्क श्यामकुमारले गाउँललेलाई भन्यो ।
त्यसै अनुरुप गाउँलेले रातारात श्यामबाट पहिले आफैंले बेचेका बाख्रा १० हजार रुपैंयाका दरले किने ।
भेलिपल्ट गाउँमा श्याम पनि देखा परेन अनि त्यो बाख्रा व्यापारी पनि देखा परेन । गाउँलेको सातो गयो ।
पहिले बाँदरको चक्करमा लाग्दा धोका खाएका गाउँले अहिले बाख्रामा पनि ठगिए ।
गाउलेहरुको बैठकमा श्याम फटाहा रहेछ भनेर चिन्न नसक्नु आफ्नो कमजोरी रहेको ठहर भयो ।
त्यसपछि बाख्रा किन्नेहरुले सामुहिक बाख्रा पालन गर्ने निर्णय गरे । एउटाले तीन वटा पाठा पाउँदा गाउँमा हर्ष बढाई नै भयो । बाँझो खेतबारीमा घांस रोप्ने, उन्नत जातको बोका लगाउने लहर नै चल्यो ।
नामपुर बाख्रापालन नमूना गाउँको रुपमा चर्चित हुन थाल्यो । शहर बजारमा सबैतिर नामपुर गाउँकै खसीको माग हुन थाल्यो ।
हरेकको घरमा तीस चालिस वटा बाख्रा देखिन थाले । गाउँलेले एउटै खसी र बोका बेचेर बीस हजारसम्म आम्दानी गर्न थाले । कसै कसैले बाख्राको दुध दोएर छुर्पि समेत बनाई बिदेश निर्यात गर्न थाले । बाँदर ब्यापारमा भएको घाटा अब सबैले बिर्सिएको भान हुन थाल्यो ।
श्रीरामले गाउँले भेलामा भन्यो 'बेलैमा बाख्रा ब्यवसाय गर्न बुद्धि पुगेन, बेकारमा दुख पाईयो ।'
बाख्रा पनि महंगो मूल्यमा किन्नु हुँदैन रहेछ भन्ने चेतना सबैलाई भयो ।
No comments:
Post a Comment