नेपाल संवत् विशेष: नेपालको मौलिक संवत् ।

नेपाल संवत् धेरैजसो नेवारहरुको मात्र संवत् हो भन्ने कतिपय नेवार र गैरनेवारहरूमा परेको छ । यो कुरा अशिक्षीत वर्गमा मात्र नभएर सचेत वर्गमा पनि त्यत्तिकै देखिन्छ । नेपाल संवत्को आन्दोलन, अभियान र परम्परामा नेवारहरु मात्र लागेको देखेर पनि भनिएको हुनुपर्छ ।


नेपाल संवतको नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारहरूको संवत् भन्ने भ्रम छ । तर, नेपाल संवत् शुरू भएको भोलि कात्तिक ३ गते ११३७ वर्ष पूरा हुन्छ भने नेवारहरूले म्हः पूजा गर्न शुरू गरेको ११८५ वर्ष भइसकेको छ । म्हः पूजा शुरू गरिँदा यहाँ लिच्छवी राजा जयदेव द्वितीयले शासन गरेका थिए । पश्चिम भारतबाट आएका लिच्छवीहरूले यहाँ शासन गरेपछि आफ्नै लिच्छवी संवत् चलाएका थिए । नेपाल संवत् जस्तै लिच्छवी संवत् पनि चन्द्रमानको आधारमा थियो । चन्द्रमानअनुसार असोज शुक्ल प्रतिपदा एवम् कछलागा प्रतिपदाका दिन नेपाल संवतको नयाँ वर्ष शुरू हुन्छ । यहाँ नेपाल संवत् शुरू हुँदा लिच्छवी संवत् ८०२ रहेको इतिहासविद्हरू बताउँछन् ।

नेपाल संवतको ऐतिहासिक पृष्ठभूमि:
नेपाली इतिहासको लिच्छवी कालको सामन्ती युग जर्जर अवस्थामा रहेको बेला नेपाल संवतको प्रादुर्भाव भएको थियो । त्यसबेला देशका धेरै मानिसको आर्थिक स्थिति राम्रो थिएन । धेरैजसो जनता ऋणमा डुबेका थिए । ज्यापु पञ्चः नेपाल संवत् र शङ्खधर साख्वा, केही विवेचना विषयक एक लेखका अनुसार सामन्ती शोषणका कारण त्यसबेला राज्यमा विद्रोहको स्थिति थियो ।

नेपाल संवतबारे इतिहासकार हरिराम जोशी भन्छन्, ‘लिच्छवीहरूको शक्ति शिथिल भएको बेला शङ्खधर नामका एक साहूले देशको विकट स्थितिमाथि काबु गरी देशलाई स्थायित्व प्रदान गरेका थिए ।’ शङ्खधर नेपाल संवतका प्रवर्तक हुन् । नेपालमा संवत् फेर्न मुलुकका सबै ऋणीहरूको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो । यसै मान्यताअनुरूप शङ्खधरले ऋणीहरूको ऋण तिरी नेपाल संवत् चलाएका थिए । यसबाट के स्पष्ट हुन्छ भने उत्तर लिच्छवी कालमा मानिसको आर्थिक स्थिति राम्रो थिएन । यसै पृष्ठभूमिमा ऋणबाट थिचिएका आम जनतालाई ऋणबाट मुक्ति दिलाउन शङ्खधर साख्वाले नेपाल संवत् चलाएको देखिन्छ ।

नेपालको मौलिक संवत्:
नेपाल संवत् शङ्खधरले राजा राघवदेव र आनन्ददेवको पालामा यो संवत् चलाए पनि यसको नाम नेपाल संवत् रहेकाले यो हाम्रो स्वाभिमानको प्रतीक हो । यसलाई कदर गर्दै नेसं ११२८ अर्थात् विसं २०६५ सालमा सरकारले यस नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको छ ।

व्यावहारिक संवत्:
अधिकांश नेपालीको जन्मदेखि मृत्युसम्मका सबैजसो कर्मकाण्ड नेपाल संवतकै तिथिबाट गरिन्छ भन्ने कुरामा विवाद छैन । दशैं, तिहार, छठ, जनैपूर्णिमा, बुद्ध पूर्णिमा, रामनवमी, कृष्णाष्टमी, तीजलगायत अधिकांश चाडपर्व नेपाल संवतको चन्द्रमास पात्रोअनुसार मनाइन्छ । अधिकांश सरकारी बिदा पनि नेपाल संवतकै गणनाअनुसार दिइन्छ । हाम्रा चाडपर्व रीतिरिवाज नेपाल संवतअनुसार नै व्यवहारमा प्रयोग गरिँदै आए तापनि यसलाई नेवारको मात्र संवत् भनेर आफैलाई जिस्काइरहेको कटु यथार्थ हो । नेपाल संवतको ११३८ वर्षको इतिहासमा ९ सय वर्षसम्म नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गरिएको थियो । विसं १९६० मा चन्द्रशम्शेरले जागीरदारलाई तलब दिन अप्ठ्यारो र दिनगन्ती असजिलो भयो भनी नेपाल संवतलाई हटाएका थिए । यद्यपि, अहिलेसम्म जनतामाझ यो संवत् प्रचलनमा छ । नेपाल संवत् नेवारहरूको संवतमात्र भनेर भ्रम छरिरहँदा भक्तपुरको प्रमुख जात्राको रूपमा रहेकोे बिस्केट जात्रा विक्रम संवत्अनुसार प्रत्येक वैशाख १ गते मनाइन्छ । घिउचाकु सङ्क्रान्ति, नवदुर्गा जात्रा विक्रम संवत्अनुसार मनाइन्छ । नेवारहरूले नेपाल संवत्लाई चाडपर्व र संस्कारको प्रमुख संवत्का रूपमा मनाइँदै विक्रम संवत्लाई पनि अँगाल्दै आउँदा सरकारले भने यसलाई व्यवहारमा प्रयोग गर्न कञ्जुस्याइँ गर्दै आएको छ ।

नेपालमा प्रचलनमा ल्याइएका संवत्हरू:
नेपाली इतिहासले नेपालमा चारओटा संवत् प्रचलनमा आएको देखाएको छ । शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत् । यी चारओटामध्ये नेपाल संवत् सबैभन्दा चलेको संवत् हो ।

नेपाल संवत् १ देखि ८८८ सम्म गरी ८८८ वर्ष र विक्रम संवत् चन्द्र शम्शेरको पालादेखि अहिलेसम्म गरी १०७ वर्ष जति प्रचलनमा आइसकेको छ ।

सबैभन्दा पहिले प्रचलनमा ल्याइएको देखिएको शक संवत् लिच्छवीकालको शुरूमा र पछि पृथ्वीनारायण शाहले पुनः लागू गरेको देखिन्छ । यो संवत् पहिले २०० देखि ५२६ सम्म र पछि १६९० देखि १८२५ सम्म गरी ५ सय वर्ष जति प्रयोगमा रहेको इतिहासविद्हरू बताउँछन् । मानदेव संवत् ३०४ वर्ष चलाइएको पाइन्छ । नेपालको इतिहास हेर्दा ९० प्रतिशतभन्दा बढी अभिलेख नेपाल संवत्मा लेखिएको पाइन्छ ।

नेपालको प्रारम्भिक इतिहास अत्यन्त अस्पष्ट र अनुमान तथा किंवदन्तीहरूले भरिएको छ । किरात कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । शक संवत् भारतका शकवंशीय शासकहरूको नामबाट चलाइएको संवत् हो जुन आज पनि भारतमा राष्ट्रिय संवत्को रूपमा प्रचलनमा छ । अहिले शक संवत् १९३४ हो ।

महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत् चलाए भने राजा राघवदेवको पालामा नेपाल संवत् चलाइयो । नेपाल संवत् ८८८ मा नेपालमाथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले शक संवत् र नेपाल संवत्लाई पुनः प्रचलनमा ल्याए । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा विक्रमादित्यको नाममा चलाइएको दाबी गरिएको विक्रम संवत् प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ ।

नेपाल संवत् यहाँ तत्कालीन समयमा प्रचलित भएको शक संवत् वा अहिले प्रचलित विक्रम संवतजस्तै बाहिरबाट आयातित विदेशी संवत् होइन । यस संवतको प्रचलनलाई रोकिएको पनि छैन । शक संवत् ४९८ सकिनासाथ मानदेव संवत् शुरू भयो तथा उक्त संवत् सार्वजनिक प्रचलनमा आएन । माथि उल्लेख भएजस्तै नेपालमा अहिले र पहिले प्रचलित सबै संवतमध्ये मानदेव संवत् र नेपाल संवतमात्र स्वदेशी संवत् हुन् । मानदेव संवत् ई. ५६६ साल (विसं ६३३, शकसं ८०२) सालमा रोकियो । यसको स्थान नेपाल संवतले लियो र त्यसबेलादेखि अहिलेसम्म एक स्वदेशी संवतको रूपमा नेपाली इतिहासमा यसको विशेष भूमिका रहेको छ ।

चीनमा नेपाल संवत्:
यो संवत्ले छिमेकी देश चीनमा पनि मान्यता पाएको थियो । इतिहासविद् धनवज्र जोशीका अनुसार चीनको मिङवंशी वादशाह पनि नेपालको काभ्रेतिरका सामन्त राजा शक्तिसिंह राव बच्चनलाई लेखेको परवाना पत्रको सकल परराष्ट्र मन्त्रालयमा सुरक्षित छ । रञ्जना लिपी संस्कृत भाषामा लेखिएको उक्त पत्रमा नेपाल संवत् ५३५ अङ्कित छ, जुन रञ्जना लिपीसहित नेपाल संवत्को पनि प्रचलन केही रूपमा चीनमा भइरहेको पुष्टि हुन्छ ।

प्रताप सिंह शाहको पालामा तिब्बतसँगको सन्धिमा नेपाल संवत् र नेपाल भाषा प्रयोग गरिएको पाइन्छ । त्यस्तै, अन्य सन्धि सम्झौतामा पनि नेपाल संवत् प्रयोग भएको पाइन्छ ।

नेपाल संवतको परिचय:
नेपाल संवत् चन्द्रमासमा आधारित संवत् हो । मोटामोटी रूपमा चन्द्रवर्ष ३ सय ५४ दिनको हुन्छ र प्रत्येक ३ वर्षमा अधिमास हुन्छ । नेपाल संवत्अनुसार पनि १ वर्षको १२ महीना हुन्छ । तर, हरेक तेस्रो वर्षमा १ वर्षको १३ महीना हुन्छ । नेपाल संवत्अनुसारका महीनाहरू निम्नअनुसार छन् :

१. कछला २. थिङ्ला ३. पोहेला ४. सिल्ला ५. चिल्ला ६. चौला ७. बछला ८. तछला ९. दिल्ला १०. गुँला ११. ञँला १२. कौला

उपर्‍युक्त १२ महीनाका अतिरिक्त प्रत्येक ३ वर्षमा आउने अधिमासलाई ‘अनाला’ (मनमास) भनिन्छ ।

नेपाल संवतका महीनालाई शुक्लपक्ष र कृष्णपक्षअनुसार दुई भागमा विभाजन गरिन्छ । शुक्ल पक्षलाई बुझाउन महीनाको अन्त्यमा ‘थ्व’ जोडिन्छ । जस्तै– कछलाथ्व, थिँलाथ्व, पोहेलाथ्व, सिलाथ्व इत्यादि । त्यस्तै, कृष्णपक्षलाई बुझाउन महीनाको अन्त्यमा ‘गाः’ जोडिन्छ । जस्तै– चिंल्लागाः, चौलागाः, वछलागाः, अनालागाः इत्यादि ।

नेपाल संवत् कात्तिक शुक्लपक्ष प्रतिपदा अर्थात् कछलाथ्व पारुदेखि प्रारम्भ हुन्छ । नेपाल संवत्अनुसार दिन गणनालाई सरलताका लागि तल प्रस्तुत गरिएको छ :


तिथिलाई अङ्कमा लेख्ने चलन पनि छ । जस्तै– ११३७ कछलाथ्व प्रतिपदालाई ११३७ कछलाथ्व १ पनि लेखिन्छ । त्यस्तै– ११२४ कछलागाः प्रतिपदालाई ११२४ कछलागाः १ पनि लेख्न सकिन्छ । यस सन्दर्भमा एउटै कुरा सम्झिनुपर्ने के छ भने औंसीलाई १५ लेखिन्छ भने पूर्णिमालाई ३० लेखिन्छ । नेपाल संवत् चन्द्रको गतिअनुसार चल्ने हुँदा कहिलेकाहीँ कुनै तिथि २ दिन पर्ने र कुनै तिथि टुट्ने पनि गर्छ । नेपाल संवतका केही आफ्नै विशेषता र महत्त्व छन्, जसलाई निम्नानुसार बुँदागत रूपमा प्रस्तुत गर्न सकिन्छ :
क) यो संवत् आफ्नै देशभित्र उत्पन्न भएको नेपालको मौलिक संवत् हो ।
ख) यो संवत् कुनै व्यक्ति वा जातिको नाममा समर्पित नभई आफ्नै देशको नाममा समर्पित देशकै नामले चलेको संवत् हो ।
ग) यो संवत् रणविजय, राज्यारोहणजस्तो उपलक्ष्यमा चलाइएको होइन । ऋणमा डुबेका ऋणीहरूको मुक्तिको अवसरमा चलाइएको संवत् हो ।
घ) यो कुनै राजा महाराजाबाट स्थापित संवत् होइन । यसका प्रवर्तक सामान्य नागरिक हुन् । अतः यसलाई जनस्तरबाट स्थापित संवत् भन्न सकिन्छ ।

साझा संवत् नेपाल संवत्:
नेपाल संवत् धेरैजसो नेवारहरूको मात्र संवत् हो भन्ने भान कतिपय नेवार र गैरनेवारहरूमा परेको छ । यो कुरा अशिक्षित वर्गमा मात्र नभएर सचेत वर्गमा पनि त्यतिकै देखिन्छ । नेपाल संवतको आन्दोलन, अभियान र परम्परामा नेवारहरू मात्र लागेको देखेर पनि यसो भनिएको हुनुपर्छ ।

नेपाल भाषा अथवा नेवारी भाषा पनि नेपालको भाषा हो । यस अर्थमा यो पनि नेपाली हो । तर, संवतको अर्थमा हेर्ने हो भने त्यस प्रकारबाट मात्र नेपाली होइन । यो संवतलाई पहिला त राष्ट्रको नाममा स्थापना गरिएको छ । त्यसैले, यो नेवारहरूको मात्र संवत् होइन । दोस्रो यो नेपालमै उत्पत्ति भएको हो । त्यसैले, नेपालकै राष्ट्रिय र मौलिक संवत् हो । यस्तै, शङ्खधर साख्वा भन्ने व्यक्ति नेवार नै भन्ने कुनै स्पष्ट छैन । संवत् शुरुआतको समय लिच्छवीकालीन अवस्था थियो, जुन बेला नेवारी भाषाको साहित्य र नेवार जातिको छुट्टै अस्तित्वको गणना छैन ।

कसैले संवतको शुरुआत गर्नुपर्‍यो भने देशमा सबैलाई ऋणमुक्त गर्नुपर्ने भन्ने कुरा पूर्वीय संस्कृतिको भनाइ छ । यो शङ्खधरको कुरा होइन । तर, यसप्रकार शुरू भएको संवत् अरू भने छैन । सम्भवतः सामन्तकालीन, सम्राट् र राजाहरूको जगजगीको बेलामा त्यस्तो जनस्तरबाट शुरू गरिएको संवत् नेपालमा नभए पनि भारतमा विस्तार भएको हुन सक्छ । यसैले पनि यो नेपालको संवत् हो । नेपाल संवत् प्रयोग भइरहेको कछला, थिँला, पोहेला, दिल्ला, गुँला, ञँला र कौला भन्ने महीनाको नामको मूल रूपको नेपालीकरण भएको छ ।

नेपाल संवत् प्रयोग गर्ने पात्रो चतुर्मासमा आधारित छ । यसमा फेरि मुसलमानहरूले प्रयोग गर्ने क्यालेण्डरमा जस्तै विशुद्ध चतुर्मास नभएर दिन र वर्षलाई मात्र सौर्यमासका आधारमा मिलाएर प्रयोगमा ल्याएको देखिन्छ । यस्तै प्रकारले सूर्योदय हुने समयमा कुनैकुनै तिथि परेको देखिन्छ । त्यसै तिथिलाई त्यस दिनको तिथिको रूपमा लिइयो र यसै प्रकारले तिथि दोहोरिने र टुट्ने भइरहेको पाइन्छ । शक संवत् र भारतमा विक्रम संवतको पनि चन्द्रमास यसरी नै गणना भइरहेको देखिन्छ । यस अर्थले यो पूर्वीय सभ्यताको परम्परा नै हो भन्ने स्पष्ट हुन्छ ।

श्रोत: आर्थिक अभियान; विहिवार, २ कत्तिक २०७४ ।

पीडीएफमा डाउनलोड गर्न निम्न लिंकमा क्लिक गर्नुहोस् ।




सेयर अप्डेट नेपाल: शुक्रवार, ३ कत्तिक २०७४ ।

No comments:

Post a Comment

AddToAny