Showing posts with label Village. Show all posts
Showing posts with label Village. Show all posts

Wednesday, May 17, 2017

सेयर बजारको कथा : बाँदर अनि बाख्रा

नामपुर गाउँका किसान बाँदरको अनियन्त्रित कृयाकलापबाट हैरान थिए । गाउँको फाँटमा कहिलेकाँही ठुलो संख्यामा किसानहरु भेला हुन्थे । अनि कसरी किसानी गरेको अन्नपात बाँदरबाट जोगाएर धेरै पैसा कमाउन सकिन्छ भन्ने बिषयमा घनिभुत छलफल गर्थे । तर परम्परागत खेतीले को पो धनी हुन सक्थ्यो र ! उनीहरुको छलफल औपचारिकतामा मात्र सिमित हुन्थ्यो । ..
मकैबाली गोडमेल गरे पछि फेरि गाउँमा किसानहरुको भेला भयो ।


‘हैन यी बाँदर किन्ने मान्छे आए पनि हुन्थ्यो नि ।’ इन्द्रले पीडा पोख्यो ।

‘के भन्छ यो ? बाँदर पनि कसैले किन्छ ? लौ बाँदर किन्ने कोही आयो नै भने पनि हामीले गर्ने चैं के ?’ दिलेन्द्रले इन्द्रलाई प्रतिप्रश्न गर्यो ।

‘हैन बाँदरको बारेमा तलको बजाराँ खुलेको एउटा के नाम त्यो .... कम्पनी छ नि त्यसले सोधिखोजी गरिरहेको थियो है । कुरो के रहेछ बुझ्न पो जाने होलां, केही उपाय निस्किन्छ कि ।’ श्याम बोल्यो ।

‘हजुर हामी यो कम्पनीको प्रमुख दिनेश सरलाई भेट्न आएका ।’ - हुल बाँधिएर गएका किसान मध्येको श्यामले गाउँ नजिकको बजार क्षेत्रमा रहेको कम्पनीको रिसेप्सनमा बसेकी गोरी युवती (देविका) लाई जिज्ञासा राख्यो ।

एकछिन पर्खिनुहोस है, म सरलाई तपाईहरु आउनु भएको कुरा सुनाउँछु ।’

-‘हवस, हामी यहि पर्खिन्छौं ।’

तपाईहरुलाई सरले भित्र बोलाउनु भएको छ ।’ युवतीले गाउँले किसानको नेतृत्व गरिरहेको श्यामलाई भन्छे ।

'नमस्ते सर ।’ केही भित्र पसेर एउटा तला माथि चढे पछि बाँया तर्फको सुविधासम्पन्न कोठामा पुगेर सबैले सामुहिक रुपमा दिनेश साहुलाई नमस्ते ठोक्छन् ।

‘नमस्ते नमस्ते, आराम हुनुहुन्छ ?’

‘हजुर आराम छौं ।’

‘तपाईको नाम इन्द्रबहादुर हैन ? अस्ति पर टारमा बाँदर लखेट्दै गरेको बेला भेट भएको थियो नि ।’ दिनेश साहुले सोधे ।

‘हो हजुर । हजुरहरुसंग सानो सहयोग माग्न पो आएका हामी त ।’ इन्द्रले जवाफसंगै सहयोग माग्यो ।
‘कस्तो सहयोग ?'

‘मकैबाली जोगाउन हम्मे हम्मे पर्यो । लौन हाम्रो आम्दानी कसरी जोगाउने होला ?’ खचाखच भरिएको कोठाको कुनामा भित्तापट्टि भुँईमा टुसुक्क बसेको दिलेन्द्रले आफ्नो अघिल्तिर रहेको भिडभन्दा अगाडी बडेमानको कुर्सीमा बसेको दिनेश साहुलाई समस्या पोख्यो ।

कुर्सी अलिकति घुमाउँदै दिनेश साहुले भने 'हामीलाई एउटा बिदेशी औषधी कम्पनीले बाँदरमा औषधीको परीक्षण गर्न ठूलो संख्यामा बाँदर माग गरेको छ । तपाईहरु दिनसक्नुहुन्छ त ?'
‘सर हामी तयार छौं ।’

मकै पनि जोगिने बाँदर समातेर ल्याँउँदा आम्दानी पनि हुने भएपछि किसानहरु हौसिनु स्वभाविक थियो ।

'हामीलाई चाहिएको बाँदर ल्याइदिनु हुन्छ भने एउटा बाँदरको १ हजार रुपैंया दिन्छौं । अब बाँदर पनि सकिने, तपाईहरुको आम्दानी पनि हुने अनि मकैबाली पनि जोगिने ।’ दिनेश साहुले सबै किसानलाई आश्वास्त पार्न खोजे ।

‘हामीले बाँदर बेच्ने रे ? अनि तपाईको कम्पनीले किन्ने ?’ अचम्म मान्दै श्यामले थप जिज्ञासा राख्यो ।

भुँईमा बसेको भिडको मध्य भागबाट फेरि दिनेश साहु बसेको कुर्सीमा हेर्दै रामबीरले थप्यो ‘बाँदर मुला जति पनि छन नि गाउँमा, तपाईले किन्ने पक्का हो भने हामी जति पनि बाँदर ल्याउन सक्छौं सर, हामीलाई पैसा कमाउनु छ ।’

रामबीरको आवाज बन्द नहुँदै सबैको मुखबाट सामुहिक आवाज निस्कियो

‘हो सर हामी तपाईलाई बाँदर बेच्न तयार छौं ।’

गाउँलेहरु बाँदर खोज्न जंगल पसे, पाँसो थापे, कसैको पाँसोमा दुई दुई वटा बाँदर पर्यो । बाँदर समात्ने क्रममा हर्कको हातमा बाँदरले टोकिदियो पनि ।

५२ जना गाउँलेले ७० वटा बांदर बन्द ट्रकमा लादेर दिनेश साहुको कम्पनीसम्म पुर्याएर एकमुष्ट रकम बुझे ।

बाँदर बेचेको अबसरमा गाउँमा ठूलो भोज चल्यो । यस अघि एक बोतल खानेले दुई, तीन बोतल समेत रित्याए । गरिबीको चक्र न हो, सबैका गोजी रित्तिए ।

क्रमश:

*** *** *** *** *** तल क्लिक गर्नुस । *** *** *** *** ***


Wednesday, March 15, 2017

सर्वस्व गुमाएर पाएको पिआर (Permanent Residence) ले के गरू?

फर्कदा 'लुक्स' तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरिवार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनोदशा दोस्रो विश्वयुद्धपछि जर्मन फौजको सिपाही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न' फर्कदै थिएँ। जुनसुकै युद्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हार्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य हुँदैन। मैले त्यसदिन आफूलाई जर्मन सिपाही जस्तै अभागी अनुभव गरेँ।


हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ।।हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो। दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन।

१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो। संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।

घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन्। ढोका आधा खोलेर चियाइन्। दाइकी श्रीमती होलिन्– भाउजू!

उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन। त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ?

‘तपाईं को?' उनले पनि ठाडै सोधिन्।

‘भाइ', मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ।

‘को भाइ?’, उनले फेरि सोधिन्।

उनीहरूको जीवनमा मेरो प्रसंग उठ्न छोडेको धेरै भइसकेको थियो। त्यसैले उनले आफ्नो लोग्नेको कुनै भाइ पनि रहेको तितो सत्य बिसिर्सकेकी थिइन्। मैले नाता प्रमाण सहितको जवाफ फर्काए–रामकृष्ण अधिकारीको कान्छो भाइ म मदन अधिकारी।

उनले चिनिन्। मेरो आगमनले भएको नोक्सान उनका आँखामा स्पष्ट देखिन्थ्यो। सम्बन्ध दोहोरो नै हुन्छ उनको पनि मप्रति सम्मान र स्नेह थिएन। त्यसैले मेरो आगमनले आफू खुसी भएको देखाउने असफल प्रयास उनले पनि गरिनन्। एकछिन हेरेर ढोका खोल्दै भनिन्–आउनुस्।

‘ऊ त्यहाँ होइसिन्छ।' भित्र पुगेपछि अर्को कोठा देखाउँदै उनले रामको ठेगाना बताइदिइन्। ऊ एक्लै थियो। केही पिइरहेको। १८ वर्षपछि दाजुभाइको भेट भएको थियो।

छुट्टिने बेला ऊ एयरपोर्टसम्म आएको थियो मलाई बिदा गर्न। विछोडको पीडा बनी झर्न लागेका आँसु आँखामै रोक्ने प्रयास गरेको थियो दाइले। म छुट्टिएको त्यो पल खप्न आमापछि सबैभन्दा गाह्रो उसैलाई परिरहेको थियो।

तर, त्यति लामो विछोडपछि भेटिँदा हामी मुस्कुराउन सकेनौं। मेरो उपस्थितिले चढ्दै गरेको उसको नशासमेत उतारी दियो।

एकछिन पछि सम्झेर मुस्कुराउन खोजेर ढिलै भएपनि औपचारिकता पूरा गर्न खोज्यो उसले। मैले त त्यो पनि गरिनँ।

‘बस्, कहिले आइस्?’, दाइले सोध्यो।

‘सरासर आउँदै छु’, मैले भनें।

मेरो जवाफमा उसले टाउको हल्लायो। लाग्थ्यो, म उसलाई अचानक आइलागेको बडो कठिन परिस्थिति भएँ। बोल्ने शब्दको खडेरी पर्‍यो। सानो छँदा दिनरात कुरा गरेर नथाक्ने हामी दाजुभाइ त्यो सुनसान कोठामा निशब्द भयौं।

‘एउटा ग्लास ल्याउ त’, मौनता तोड्दै दाइले भान्सामा भएकी आफ्नी श्रीमतीसँग मेरालागि एउटा गिलास माग्यो।

‘भाउजू’ गिलास बोकेर आएकी महिलाको औपचारिक परिचय दियो। मैले हात जोडिनँ। ओठले नमस्कार मात्रै भने। उनले हात जोडिन् तर नमस्कार उच्चारण गरिनन्। हिसाबकिताब बराबर भयो। उनी भान्सामा नै फर्किन्।

दाइले गिलास भरिदियो। आइस हाल्दियो।

सलादको प्लेट पनि दुबैको बिचमा हुनेगरी राख्यो। दाइले आफ्नो गिलास उठायो। मैले मेरो गिलास उठाएँ। तर हामीले चेयर्स गरेनौं। आ–आफ्नो घुड्की लिएर गिलास टेबलमा राख्यौं।

‘एकछिन भान्सामा आइसियो त’ भाउजुको तर्फबाट निम्तो आयो। दाइ उठेर गयो। म एक्लै पिइरहेँ। भान्सामा पाकेको खासखुस, सल्लाह र साउतीले मलाई यहीँसम्म अमन र अरुची पैदा भइरहेको थियो। केहि मिनेटको गोप्य भेला सम्पन्न गरेर ऊ फेरि उही निशब्द कोठामा आयो। तर फेरि पनि बोल्नलाई हामीसँग शब्द र विषय थिएन।

‘जग्गा ससुरालीले दिए, भाउजुकै नाममा पास गरेर। ऋणपान खोजेर घरसम्म ठ्ड्याएँ।' स्वास्नीको कथा, संम्वाद र निर्देशनमा उसले बडो घतलाग्दो अभिनय देखायो। अभिनयपछि आफ्नै स्पष्टीकरणले लज्जित भएको रातो अनुहार एक घुड्की लिएर सामान्य बनाउन खोज्यो तर आँखा उठाएर मलाई हेर्न सकेन। आँखा झुकाएर चुपचापले झोक्राइ रह्यो।

‘मलाई तेरो घरमा कुनै इन्ट्रेस्ट छैन, दाइ। घर त के मलाई यो शहरमा नै इन्ट्रेस्ट छैन। म गाउँमै सेटल हुन चाहन्छु। धेरै भाग अहिलेसम्म म, बाँकी जीन्दगी आनन्दले गाउँमै बिताउन चहान्छु।' मैले आफ्नो योजना सुनाएँ।

‘तर गाउँमा हाम्रो केही छैन। बुबाआमाको औषधि उपचारमा सबै सकियो’, भाउजू पर्दा पछाडिबाट मन्चमै आइन। दाइ फेरि केही बोलेन। उसरी नै झोक्राएको नै थियो।उ नबोलेपछी म आफै बोल्न बाध्य भएँ।

‘भाउजू!' म उनलाई पहिलोपटक साइनो लगाउँदै थिएँ ‘यो हामी दाजुभाइको कुरा हो। हाम्रो पितापुर्खाको सम्पत्ति हो। म तपाईंको दाइजोमा लालच गर्दिनँ, तपाई मेरो अंशको लालच छोड्नुस्।’

अतिथिको तितो जवाफले निलो भएको अनुहार लिएर उनी त्यहाँबाट गइन्।

उनी अर्थात भाउजूप्रति मेरो मनमा प्रारम्भदेखि नै कुनै सम्मान थिएन। उनले मेरा बुबाआमालाई जे गरिन आमाले मलाई सबै सुनाउनु भएको थियो। म त्यसको बदला लिन चहान्थेँ। अहिले अलिकति मात्र चोट पुर्‍याएकोमा पनि मलाई निकै आनन्द भयो।

मलाई थाहा छ दाइले मलाई अंश लगाउन सक्ने केही छैन्। यता बुबाको मृत्यु हुँदा उता म खैरेसँग पिआर (पर्मानेन्ट रेजिडेन्स)को भिक मागिरहेको थिएँ।

म घरपरिवार, बुबाआमा, जग्गाजमिन, गाउँसमाज र देश भएको मान्छे। ती केही छैनन् भन्दै आफुलाइ सक्दो टुहुरो प्रमाणित गर्न डटेर लागेको थिएँ। बुबा बित्नुभयो तर एउटा कागजको खोस्टोको लालचमा म उहाँलाई दागबत्ति दिन आइन।

बुबाको मृत्युपछि दाइ नै घरमुली भयो। गाउँमा बुवाको तोरी, गहुँ र धान फल्ने पहँेला, हरिया फाँटहरु आँखाले भ्याएसम्म थिए। श्रीमतीको काठमाडौ बस्ने रहर पूरा गर्न दाजुले ती सबै बेच्यो। मेरो भागको अंशको लागि आमा अन्तिमसम्म लड्नुभयो। आमाको त्यही अडानले गर्दाउनलाई गाउँ मै छोडेर दाइ काठमाडौ सर्‍यो।

आमाको साहरा हुन म फेरि पनि आइन्। एक्ली अनि बुढी आमाको साहरा हुनुभन्दा मलाई त्यो हिउँले कहिले नछोड्ने तन र मन नै चिसो र कठ्याग्रीएको देशको पिआर हुने कुरा प्राथमिक लाग्यो। मेरो धेरै आग्रह र सबै सम्पत्ति खाने सर्तमा दाइले बल्ल बल्ल आमालाई काठमाडौ ल्यायो। तर काठमाडौमा आमाले बाँचुञ्जेल दुर्व्यवहार सहनुभयो। आमा, आमाको स्थानबाट झर्नु पर्यो। सहिनसक्नु भएपछि आमा २ महिनापछि गाउँ नै फर्कनु भयो। र एक्लै एकरात संसार छोड्नुभयो।

अनि म फेरि पनि आइन। काजकिरियाको सामाजिक औपचारिकता दाइले नै पूरा गर्‍यो।

‘आइमाइ केटाकेटीसंग यस्तो कुरा गरेर के फाइदा। भात पस्किन्छु भान्सामा आइज’, दाइले भन्यो।

हामीले चुपचाप भात खायौं। ओछ्यानमा ढल्केपछि मलाई दाइको माया लागेर आयो। बुबाआमाको पुरानो तस्वीर मेरो सिरानीमा रहेछ। मलाई बुबाआमाको त्यो फोटोले ‘त्यसो नगर’ भनेजस्तो लाग्यो।

हिसाबै गरेपनि दाइले बुबाआमाको निम्ति धेरै नै गर्‍यो मेरोभन्दा। एकदुई घटना छोडेर उसले छोरो हुनुको सबै कर्तव्य निभायो।

मैले के गरे? सात समुन्द्रपारीबाट उसको मुल्यांकन मात्रै गरिरहें। मैले आफ्नै निम्ति गरिरहँदा उसले चाहिँ बुबाआमाकै निम्ति मात्रै गर्नुपर्छ भनेर न्यायाधीश भएँ। मैले त बुबाआमालाई दागबत्ती दिन मात्रै पनि सकिन।

एउटा पिआरका लागि मैले सबैथोक त्यागेर बसें। सबैथोक गुमाउन राजी भए। बाँकि एउटा दाजु थियो, मलाई लाग्यो– उसलाई पनि मैले त्यसदिन गुमाएँ।

बिहान घाम लागेपछि ब्युझें। दाइको सपरिवार लिभिङ रुममा चियापान गरिरहेका थिए। १४वर्षकी छोरी र ९ वर्षको छोरा। मेरा भतिजा र भतिजी स्कुल जाने तयारीमा थिए। अपरिचितलाई हेरे झैं आँखा उठाएर एक पटक हेरे। सायद भाउजूले सबै कुरा भनिन् कि नमस्कार पनि गरेनन्। झोला बोकेर बाटो लागे।

मैले पनि झोला बोकें। बुबाआमाको अति नै दुर्लभ फोटो झिकेर नसोधी झोलामा राखेको थिएँ।

आफू जन्मिएको धर्ती सधैंका लागि छोडेर उडिरहदा मैले तिरेको पिआरको मूल्यले मलाई नै अचम्भित पारेको छ। (हाल युएई)




प्रकाशित मिति: मंगलबार, बैशाख १, २०७२ १७:१५:२७

AddToAny