Tuesday, March 14, 2017

आस्वा प्रणालीबाट एफपीओ वा आइपीओमा आबेदन दिंदा लागत घटाउने 'गतिलो जुक्ति'

ठुलो लगानीमा २७ हजार १ सय ७१ रुपैयाँसम्म बचत

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिदका लागि माघ महिना देखि (बैंक खातामा सेयर लगानीकर्ताको पैसा रोकेर राख्ने प्रणाली) आस्वा लागु गरेको छ। यद्दपी यस प्रणालीलाई अनिबार्य भने गरिएको छैन।


माघ ९ गतेदेखि साधारण सेयर निष्कासन गरेको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको सेयर आवेदनमा यो सेवाको प्रभावकारी प्रयोग भएको छ। आइपीओ भर्नका लागि अहिलेपनि अधिकांश लगानीकर्ताले संकलन केन्द्रमा पुगी लाईन लागेर फर्म बुझाउदै आएका छन। यद्दपी केहि लगानीकर्ता भने प्रविधिको सहजतालाई आत्मसाथ गर्दै आस्वा प्रणाली मार्फत नै आइपीओ भर्दै आएका छन। पछिल्लो समय आस्वा प्रणालीको प्रयोगबाट लाग्ने आबेदन शुल्क चर्को भयो भन्दै आवाज उठिरहेको अवस्थामा केहि बैंक तथा वित्तीय संस्थाले ५० रुपैयाँमा पनि यो सुविधा उपलब्ध गराएका छन। एक बैंक त यस सेवालाई निशुल्क प्रदान गर्न पनि तयार देखिएको थियो तर बोर्डको आदेश संगै यस सेवालाई निशुल्क भने गर्न नमिल्ने भएको छ । अर्को तिर यहि समयमा बजारमा तरलता अभाब भएसंगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप मुद्दतीमा दिने ब्याजदरमा तिब्र प्रतिस्पर्धा गरे । तर केहि बैंकहरुले मात्रै मुद्दती निक्षेपसंग संगै बचत खाताको ब्याजदर समेत बढाएका छन। यस प्रतिस्पर्धामा कमर्शियल बैंकहरुलाई उछिन्दै विकास बैंक तथा फाइनान्स कम्पनीहरुले बचत खातामा राम्रै ब्याजदर दिदै आएका छन। औशतमा बैंकहरुले बचत खातामा दिने ब्याजदर ३ प्रतिशत, विकास बैंकले दिने ब्याजदर ६ प्रतिशत तथा फाइनान्सहरुले दिने ब्याजदर ८ प्रतिशत रहेको छ। यस्तो अवस्थामा लगानीकर्ताले थोरै मात्रै पनि चलाखी गर्ने हो भने आस्वा प्रणाली प्रयोग गरि आइपीओ तथा एफपीओ भर्दा लाग्ने लागत घटाउन सक्ने छन।

हेरौं एक उदाहरण
आजदेखि स्ट्यान्डर्ड चार्टडको एफपीओमा आबेदन खुला गरिएको छ। लगानीकर्ताले एक सय रुपैयाँ अंकित दरमा ११९० रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता १२९० रुपैयाँमा एफपीओ चार्टडको एफपीओ भर्न पाउने छन।

सानो लगानीमा
मानौं तपाई स्ट्यान्डर्ड चार्टडको एफपीओमा आस्वा मार्फत १० कित्ता भर्ने सोचमा हुनुहुन्छ। कुनै कमर्शियल बैंकबाट आस्वा मार्फत आबेदन दिंदा तपाईको लागत कति हुन सक्छ ? १० कित्ताका लागि तपाइँको १२९०० अर्थात १२ हजार ९ सय रुपैयाँ रोक्का गरिन्छ। बैंक मार्फत आबेदन दिंदा तपाइँल बचत खातामा औषतमा ३ प्रतिशत ब्याज पाउनु हुन्छ। अर्थात ५० दिनको अवधिमा तपाईले १२९०० रुपैयाँको ५३ रुपैयाँ ब्याज स्वरूप पाउनु हुन्छ। यदि तपाईलाई एफपीओ पर्यो भने तपाईको लागत प्रति कित्ता १२८४ रुपैयाँ ७० पैसा पर्न आउँछ।

यहि १० कित्ता तपाईले फाइनान्स मार्फत गर्नु भयो भने कति लागत लाग्छ ?
मानौ, बचत खातामा तपाईले फाइनान्सबाट ८ प्रतिशत पाउनु हुन्छ भने ५० दिनमा तपाइँले १२९०० रुपैयाँको लागि १४१ रुपैयाँ ३६ पैसा ब्याज स्वरूप पाउनुहुन्छ। यदि तपाईलाई फपीओ पर्यो भने तपाईको लागत प्रति कित्ता १२७५ रुपैयाँ ७६ पैसा पर्न आउँछ।

प्रति कित्ता बचत ८ रुपैयाँ ९० पैसा र १० कित्तामा ८९ रुपैयाँ बचत हुन्छ। यहि उदाहरणलाई तपाईले आबेदन दिन चाहेको कित्ता र रकममा ट्याली गर्न सक्नु हुन्छ।

ठुलो लगानीमा
मानौ तपाई स्ट्यान्डर्ड चार्टडको एफपीओमा आस्वा मार्फत ३१०० कित्ता भर्ने सोचमा हुनुहुन्छ। कुनै कमर्शियल बैंकबाट आस्वा मार्फत आबेदन दिंदा तपाईको लागत कति हुन सक्छ ? ३१०० कित्ताका लागि तपाइँको १२९०० अर्थात करिब ४० लाख रुपैयाँ रोक्का गरिन्छ। बैंक मार्फत आबेदन दिंदा तपाईले बचत खातामा औषतमा ३ प्रतिशत ब्याज पाउनु हुन्छ। अर्थात ५० दिनको अवधिमा तपाईले १६ हजार ६ सय ६२ रुपैयाँ पचास पैसा पाउनु हुन्छ। तपाईको प्रति कित्ता लागत १२८४ रुपैयाँ ६२५ पर्न आउंछ।

यहि ३१०० कित्ता तपाईले फाइनान्स मार्फत गर्नु भयो भने कति लागत लाग्छ ?
मानौ, बचत खातामा तपाईले फाइनान्सबाट ८ प्रतिशत पाउनु हुन्छ भने ५० दिनमा तपाइँले ४३ हजार ८ सय २४ रुपैयाँ ब्याज स्वरुप पाउनु हुन्छ। यस्तो अवस्थामा तपाईलाई प्रति कित्ता लागत १२ सय ७५ रुपैयाँ ८६ पैसा पर्न आउँछ।

यस्तो अवस्थामा तपाइँलाई प्रति कित्ता ८ रुपैयाँ ७६ पैसा र ३१०० कित्तामा २७ हजार १ सय ७१ रुपैयाँ बचत हुन्छ।
यहि उदाहरणलाई तपाईले कमर्शियल बैंकहरुबाट १२ प्रतिशतमा ऋण लिएर फ़ाइनान्स तथा विकास बैंक मार्फत आस्वा प्रयोग गरेर आइपिओ एफपीओ भर्दा कति फाइदा हुन्छ त्यसको अनुमान पनि तपाइँले लगाउन सक्नुहुन्छ। ब्याजदरको फरकबाट हुन आउने बचत अर्थात् लागतमा हुने कमीलाई ध्यान दिंदै गर्दा बाणिज्य बैंक र फाइनान्स मार्फत गरिने कारोबारको जोखिमलाई भने बिर्सिनु हुँदैन।
(नोट: यो लगानीकर्तालाई जानकारी दिनका लागि प्रस्तुत गरिएको एक उदाहरण मात्रै हो। यस उदाहरणमा जोखिम, सर्भिस चार्ज र अन्य कुरालाई समावेश गरिएको छैन।)

Source: bizpati

No comments:

Post a Comment

AddToAny