Friday, April 14, 2017

एक बर्षे अमेरिका अनुभव : जन्मभूमि त छाड्यौं, कर्मभूमिप्रति गनगन किन ?

म अमेरिका आएको लगभग एक बर्ष पुग्न लाग्यो, म अमेरिकाको बारेमा जानकार व्यक्ति होइन तर विभिन्न अनलाइन पोर्टलमा समय समयमा अमेरिका र अरु देशमा बसोबास गरेका नेपालीहरुले आफू बसोबास गरेको देशको नकारात्मक कुरा मात्र लेखेको देखेर केही पंक्ति कोर्ने दुस्साहस गरेको हुँ । बिश्वको एउटा अति गरिव देशबाट बिश्व कै सबैभन्दा बिकसित देशमा आउन पाउनुलाई मैले व्यक्तिगत रुपमा सुवर्ण मौका ठानेको छु । यहाँ आएर कसैलाई बेकारमा आइएछ जस्तो लाग्छ भने खुरुक्क नेपाल फर्किन सल्लाह दिन्छु । यदी कसैले इच्छा त थिएन । तर, बाध्यताले बसिएको छ भनेर भन्छ भने देश छाडेर परदेशमा बस्नु हाम्रो बाध्यता हो न कि अमेरिकी सरकारको, यसरी आफ्नो फाइदाको लागि अरुको देशमा बसेर निरर्थक गनगन गर्नु बुद्धिमानी होइन । यँहा बस्ने मान्छेहरुले भित्र भित्रै खुशी भएपनि आफुलाई इच्छा बिपरित बस्नु परेको जस्तो देखाउन अरुको अगाडी केहि कारणहरु दिने गर्छन्, जसलाई तल उल्लेख गरेको छु । सबैभन्दा पहिलो, अमेरिकामा दुख छ भन्ने भनाइलाई लिऔं । यदि कामलाई दुखको रुपमा लिने होभने यो संसारमा कतै पनि सुख छैन । हाम्रो देश नेपालमा श्रम गर्नेलाई अपमान र बाबुबाजेले कमाएर छाडेको सम्पत्तिमा मोज गर्ने कामचोरहरु र दिनभरी सडक नापेर हल्लिरहने हरुलाई सम्मान गर्ने अनौठो र उल्टो चलन छ । तर, अमेरिकामा त्यस्तो रहेन छ, श्रम गर्नेलाई सम्मान गरिंदो रहेछ, चाहे त्यो जस्तोसुकै काम गरोस् । अमेरिकामा एउटा श्रमजीविले काम गरेर आफ्नो जीवन यापन राम्रोसँग गर्न सक्छ । तर, नेपालमा दिनभरी घोटिँदा पनि पेटभरि खान नपुग्ने अवस्था छ ।

दोश्रो, फुर्सत नै हुँदैन र सामाजिक जीवन छैन भन्ने कुरामा । संसारमा कर्मयोगी मान्छेहरुलाई फुर्सत हुदैन नै, आफ्नो काममा व्यस्त रहेको मान्छेलाई अर्काको नानाथरि कुरा गर्ने न त फुर्सद हुन्छ न त त्यस्ता तल्लो स्तरको कुरामा कुनै रुचि नै हुन्छ । यो कुरा नेपालमै रहेका मान्छेहरुमा पनि लागु हुन्छ । तर, त्यो मान्छे कर्मयोगी हुनुपर्छ, फुर्सद भनेको काम नभएको मान्छेहरुसंग मात्र हुन्छ चाहे त्यो अमेरिका होस् वा नेपालमा । जहाँसम्म सामाजिक जीवनको कुरा छ, बरु यहाँ होला नेपालमा धनीहरुको मात्र सामाजिक जीवन छ । गरिबहरुलाई कसैले वास्ता गर्दैनन् । नेपालमा गरिबको कुनै इज्जत छैन र गरिबी एउटा अभिशाप हो । 

तेश्रो, सोचेको जस्तो भएन भन्ने कुरामा । एउटा मान्छेले के सोच्छ र सोचेको जस्तो पाउछ वा पाउदैन भन्ने कुरा त्यो सम्योग मात्र हो । साधारणतया कुनैपनि मान्छेले पाउने काम र उसले कमाउने धन भनेको उसको व्यक्तिगत योग्यता र क्षमतामा भर पर्छ । अमेरिकामा मात्र होइन कि संसारको जुनसुकै कुनामा पनि । कहिलेकही योग्य व्यक्तिले सानो पद र अयोग्य व्यक्तिले ठुलो पद पाउने भनेको अपवाद मात्र हो र यस्तो अमेरिकामा भन्दा नेपालमै बढी हुन्छ । अब कसैले आफ्नो क्षमता भन्दा ठुलो कुरा सोचेर बस्छ र उसले त्यो कुरा पाउदैन भने उसले अमेरिकालाई भन्दा आफ्नो बुद्धि लाइ गाली गर्नु लाभदायक हुन्छ । 

करिब एक बर्ष अगाडी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकामा सबै नेपाली भाँडा माझ्दा रहेछन्, भनेका थिए । मलाई लाग्छ, उनले यो भाँडा माझ्नु भनेको सानोतिनो कामलाई भनेको हुन सक्छ । मेरो बिचारमा यदि कुनै मान्छेले इमान्दारीपूर्वक भाँडा नै माझ्छ भनेपनि त्यो आदर गर्न लायक कुरा हो । तर, पौडेलले सायद देखेनन् होला, अमेरिकामा नेपालमा जस्तो परालको मस्कोले खरानी चोप्दै भाडा माझ्नु पर्दैन । कि त मेसिनले माझ्छ कि त चौबिसै घण्टा धाराबाट आउने तातो पानीले साबुन लगाएर माझ्न सकिन्छ । कांग्रेस नेता पौडेललाई बिनम्रतापूर्वक मेरो एउटा प्रश्न छ, अमेरिकामा रहेका तपाईंको छोरा वा छोरीले भाँडा माझ्छन् कि माझ्दैनन् ? किनकि अमेरिकामा नेपालमा जस्तो सबैले जुठो पारेको भाडा एउटा मान्छेले माझ्ने चलन हुँदैन, प्रत्येक व्यक्तिले आफुले प्रयोग गरेको जुठो भाँडा आफैले माझ्ने चलन छ । घरेलु कामदार राख्न कानुनले प्रतिबन्ध लगाएको छ र यदी कसैको सहयोग लिउँ भन्यो भने पनि त्यो सम्भवत कुनै नेपालीले मुल्य तिर्न सक्दैन । 

यसको साथै प्राय सबै नेपाली हरुमा एउटा ठुलो भ्रम भनेको यहाका महिलाहरुले बाटो मै अँगालो हाल्छन् भन्ने छ । कसैले व्यक्त गरुन् कि नगरुन्, हुन त अंग्रेजी सिनेमामा नायिकाले नायकसँग गरेको प्रेमालाप देखेर मलाई पनि यस्तै हुन्छ कि भन्ने धारणा बनेको थियो । तर, सत्य कुरा के हो भने हामी नेपाली यो देशमा अहिले पनि नेपालमा जंगलमै जीवन बिताइरहेका राउटे जस्तै देखिन्छौं । अब अपवादको रुपमा कुनै अमेरिकी महिलाको नेपालीसँग प्रेम हुन् सक्ला तर यो घटनाले पूर्ण रुपमा प्रतितिधत्व गर्दैन । 

अत विभिन्न कारण र प्रक्रियाले अमेरिका आएका सज्जनहरुले आफुले काम गरेर जीवन चलाएको र आर्थिक रुपमा सबल भएको देशको बारेमा केवल नकारात्मक कुरा गरेर आफ्नो कर्म देशप्रति बेइमानी नगरौं, उसै पनि आफ्नो जन्मभूमि छोडेर हामीले आफ्नो देशप्रति त अन्याय गरिसकेका छौं । यद्यपी म व्यक्तिगत रुपमा यो कुरा स्वीकार गर्दिन । 'कुण्ड कुण्ड पानी र मुण्डमुण्ड बुद्धि' भनेको जस्तो झिंगालाई फोहर नै र मौरी लाई फूल नै मन पर्छ भनेको जस्तो म भने अमेरिकाबाट पूर्ण रुपमा सन्तुष्ट छु, यदी कुनै दिन कुनै पनि कारणले सन्तुष्ट हुन सकिन भने खुरुक्क नेपाल फर्किन्छु । यहाँ बेकारको गनगन गरेर बस्दिन । 

अन्तमा, जसलाई देसको माया लाग्छ उनीहरु आफ्नै देशमा बसुन् र जसलाई बिदेशमा गएर बस्ने इच्छा छ, त्यो मौका पनि पाएका छन् । उनीहरु बिदेश जान्छन । अरुको व्यक्तिगत जीवनमा यो गर्नु र यो नगर्नु भनेर उपदेश दिनु कुनै सभ्यता होइन र त्यस्तो कसैलाई अधिकार पनि छैन । मेरो भन्नु यति मात्र हो कि अनेकौ प्रयास र तिकडम गरेर पनि यहाँ आउन नसकेर पिल्सिएपछि 'अमिलो अंगुर' भने जस्तो बिरोध नगरौं । यसको मतलव अमेरिकामा बस्ने सबै महान र नेपालमा बस्ने सबै तल्लोस्तरका भन्ने अर्थ नलागोस् । 

प्रकाशित: चैत्र ३१, २०७३
कान्तिपुर

Source: kantipur

No comments:

Post a Comment

AddToAny