Showing posts with label Famous. Show all posts
Showing posts with label Famous. Show all posts

Monday, March 27, 2017

मैले आफ्नो जिन्दगीसँग खेलवाड गरेँ- मनीषा कोइराला

मनीषा कोइराला
एउटा चर्चित भनाइ छ– जिन्दगी भनेको आकस्मिक घटनाहरूको संगालो हो।

जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला ‘स्पिड–ब्रेकर’ झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइपुग्छन्, ती घटना। हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई नाजुक बनाउँछ। र, सुन्दर पनि।

साथीहरू, करिब २०–२५ वर्षअघि मैले यस्तो जिन्दगी बाँचेँ, जुन धेरैले कल्पना मात्र गर्न सक्छन्।

म ख्यातिप्राप्त कलाकार बन्न चाहन्थेँ। आफ्नो क्षेत्रको सर्वाधिक उचाइमा पुग्न चाहन्थेँ। एउटी नेपाली केटी भएर पनि म भारतको फिल्म उद्योगमा लोकप्रिय र सफल अभिनेत्रीका रूपमा स्थापित भएँ। पाँचवटा भाषाका लगभग ८० वटा फिल्ममा काम गरेँ। थुप्रै अवार्ड जितेँ। इमानदारीका साथ भन्नुपर्दा, गुणात्मक हिसाबले थोरै, तर संख्यात्मक रूपले धेरै काम गरेँ। र, जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ।

ती आकर्षक र सुन्दर पलहरू बाँचिरहँदा मलाई थाहा थिएन, जिन्दगीले मेरो निम्ति अर्कै केही सोचेको छ। मलाई यस्तो मोडमा ल्याएर खडा गर्दैछ, जहाँ विगतका ती आकर्षक र सुन्दर पलहरू म विस्तारै–विस्तारै गुमाउन थाल्नेछु। 

यसको सुरुआत पनि अत्यन्तै आकस्मिक र थाहै नपाउने गरी भयो। मैले केही नराम्रा फिल्महरूमा काम गरेँ। ती फिल्म फ्लप भए। मेरो कामको आलोचना भयो। त्यसपछि फेरि अर्को गल्ती भयो। फेरि अर्को। फेरि अर्को। एकपछि अर्को गल्ती थपिँदै गए। तर, मैले वास्ता गरिनँ। किनकि, त्यो खराब समयमा पनि केही राम्रा निर्देशकहरू थिए, जो मसँग काम गर्न चाहन्थे। त्यसैले म सोच्थेँ, म कुनै पनि बेला सफलतालाई फेरि पछ्याउन सक्छु। 

तर, त्यो कहिल्यै भएन।

ती दिनहरूमा मेरो जीवनशैली अस्वस्थ हुँदै गयो। अस्वस्थ जीवनशैलीले मलाई खराब संगततर्फ तान्दै लग्यो। म एउटा खराब सम्बन्धबाट अर्को सम्बन्धतर्फ हुत्तिँदै गएँ। मेरो जिन्दगी झन् झन् अव्यवस्थित हुन थाल्यो। म सम्बन्धहरूबाट अस्वीकृत हुँदै गएँ। त्यही बेला जब मेरो वैवाहिक सम्बन्ध पनि असफल भयो, मलाई आफू सिधै जमिनमा उधोमुन्टो पछारिएको अनुभूति भयो। 

जिन्दगीको परीक्षा यतिमै टुंगिएन।

वैवाहिक सम्बन्ध टुटेको केही समयमै मलाई क्यान्सर भयो। त्यो क्यान्सर आफैंमा भयानक खालको थियो। क्यान्सर उपचार र किमोथेरापीका क्रममा म झन् दर्दनाक समयबाट गुज्रिएँ। मेरो कपाल खुइलिँदै गयो। मेरा आँखीभौंहरू झरे। हातगोडा कमजोर भए। बलिउडको त्यो ग्ल्यामरस ‘डिभा’ बाट म अचानक सिकिस्त, दुर्बल र कमजोर क्यान्सर बिरामीमा परिणत भएँ। 

मेरो निम्ति सुन्दरता गुम्नु मात्र ठूलो कुरा थिएन। त्योभन्दा दर्दनाक त मैले यस्तो मञ्जुरीनामामा हस्ताक्षर गरेकी थिएँ, जसले मेरो आत्मा काम्यो। मैले मेरो मुटु सधैंका लागि खराब हुन सक्छ भनेर स्वीकारेकी थिएँ। मेरो सुन्ने शक्ति सधैंका लागि गुम्न सक्छ र मेरा हातका औंलाहरू जिन्दगीभरि थरथर काम्न सक्छन् भन्ने जान्दाजान्दै त्यसमा मञ्जुरीको मोहर लगाएकी थिएँ। 

हो, त्यो बेला मेरो अन्तरआत्मा भित्रैदेखि कामेको थियो। म साँच्चिकै निकै डराएकी थिएँ। कतै यी पलहरू मेरो जिन्दगीकै आखिरी पल त होइनन् भन्ने चिन्ताले म भित्रैबाट गलेकी थिएँ। म सोच्दै थिएँ, कतै म त्यो अविश्वसनीय र अकल्पनीय मृत्युको नजिक त पुगिरहेकी छैन!

त्यसपछि मैले सोच्न थालेँ, यो मेरो जिन्दगीको अन्त्य हो भने मैले अहिलेसम्म कस्तो जिन्दगी बिताएँ? के मैले जिन्दगीको भरपुर आनन्द उठाएँ? के मैले आफ्नो जिन्दगीमा गौरव अनभूति हुने कुनै काम गरेँ?

अहँ, गरिनँ।

मैले त आफ्नै जिन्दगीसँग खेलवाड गरेँ। स्वास्थ्यसँग खेलवाड गरेँ। आफ्नो करिअरसँग खेलवाड गरेँ। ती सबै मान्छेको भावनासँग खेलवाड गरेँ, जो मलाई साँच्चिकै माया गर्थे, जो मेरो ख्याल राख्थे।

साथीहरू, साढे चार वर्ष भयो, म आज क्यान्सरमुक्त छु। ईश्वरले ममाथि ठूलो उदारता देखाएको छ। जिन्दगीले ममाथि ठूलो उदारता देखाएको छ। यसबीच त्यस्तो कुनै समय छैन, जब मैले आफैंसँग गरेको बाचा बिर्सेको होस्। त्यो बाचा, जुन मैले मृत्युसँग जुधिरहेका बेला गरेकी थिएँ।

मैले अब जिन्दगीका तीन प्राथमिकता तय गरेकी छु, जसलाई म उपहार भन्न चाहन्छु। 

यो प्राथमिकतामा सबभन्दा पहिला आउँछ, मेरो स्वास्थ्य। जब म क्यान्सरसँग जुधिरहेकी थिएँ, त्यतिबेला मैले आफ्नो स्वास्थ्यको महत्व बुझेँ। म अहिले स्वास्थ्यको सम्भार गर्दैछु। आफ्नो ख्याल राख्दैछु। म पढ्छु, खोजिनीति गर्छु, ती सबै काम गर्छु, जुन मेरो स्वस्थ जीवनका लागि अपरिहार्य छ।

दोस्रोमा आउँछ, मेरो परिवारसँगको सम्बन्ध। अहिले यो सम्बन्ध विश्वास, प्रेम र सम्मानले भरिपूर्ण छ। आखिर खराब समयमा सुरुदेखि अन्त्यसम्म मसँगै रहने, मलाई साथ दिने मेरो परिवार नै त थियो। मेरा साथीहरू पनि यो सूचीमा आउँछन्। कुनै समय यस्तो थियो, जब मेरा अनगिन्ती साथीहरू थिए। आज एकदमै थोरै छन्। तर, जति छन्, ती सबैसँग मेरो गहिरो र अर्थपूर्ण सम्बन्ध छ। म उनीहरूसँग आफ्नो सम्पूर्ण भावना साट्न सक्छु। उनीहरूसँग गहिरो सम्बन्धको अनभूति गर्न सक्छु। 

र, तेस्रोमा आउँछ मेरो काम। म अन्तरआत्मादेखि नै एउटा कलाकार हुँ। कलाकारका रूपमा म आफ्नो क्षमता अझ निखार्ने चुनौती मोल्न चाहन्छु। म आफ्नो कामबाट सन्तुष्ट हुन चाहन्छु। त्यसैले, अचेल होसियारीपूर्वक फिल्म छनौट गर्दैछु। पहिलेजस्तो जथाभाबी जे मन लाग्यो त्यो काम गर्दिनँ। 

मैले यो अवधिमा जिन्दगीको चौथो उपहार पनि पाएकी छु– सेवाको अनुभूति। 

म यहाँ तपाईंहरूलाई एउटा कथा सुनाउन चाहन्छु।

जब म न्यूयोर्कको अस्पतालमा थला परेर बस्दा खासै धेरै मान्छे मलाई भेट्न आइरहेका थिएनन्, त्यो बेला एउटी महिला थिइन्, जो हरेक आइतबार मलाई भेट्न आउँथिन्। उनी न्यूयोर्कको कर्निल अस्पतालकी डाक्टर थिइन्। उनको नाम थियो, नवनीत नरुला। उनी अस्पतालको त्यो साँघुरो कुर्सीमा बसेर पूरा दिन मसँग बिताउँथिन्। उनी एक व्यस्त महिला थिइन्, तर व्यस्तताको बाबजुद उनले आफ्नो जिन्दगीको एक दिन मेरो नाममा समर्पण गरेकी थिइन्। म उनको यो समर्पण देखेर छक्क परेकी थिएँ। 

मैले उनलाई सोधेँ, ‘तिमी यो किन गर्दैछौ? तिमी मेरो साथी होइनौ, र मलाई थाहा छ, तिमी मेरो फ्यान (प्रशंसक) पनि होइनौ?’

उनले जवाफ दिइन्, ‘मनीषाजी, म यहाँ यसकारण तपाईंलाई भेट्न आउँछु, ताकि कुनै दिन तपाईं यही काम अरूको निम्ति गर्नु हुनेछ।’

उनले कति सहज रूपमा कति गम्भीर जवाफ दिइन्!

त्यही बेला मैले बाचा गरेँ, जिन्दगीमा दोस्रो मौका पाएँ भने म जुनसुकै रूपमा, चाहे त्यो सानो होस् या ठूलो, आफ्नो सामर्थ्यले भ्याएसम्म अर्काको सेवा गर्नेछु।

यही कारणले हो, जब नेपालमा भुइँचालो गयो, म भुइँचालो प्रभावित क्षेत्रहरूमा गएँ। राष्ट्रसंघीय कार्यक्रम ‘युएनएफपिए’ को सहयोगमा हामीले भूकम्पपीडित महिलाहरूको आत्मसम्मान जागृत गराउने अभियान सञ्चालन गर्यौं। म अझै पनि नेपालका दुर्गम भेगहरूमा पुग्न चाहन्छु। त्यहाँ गएर केटीहरूको शिक्षाबारे जागरण ल्याउन चाहन्छु। बाल विवाहविरुद्ध वकालत गर्न चाहन्छु। र, म त्यो अवश्य गर्नेछु।

एक क्यान्सर विजेताका रूपमा म के सन्देश दिन चाहन्छु भने, क्यान्सर भनेको मृत्युदण्ड होइन। क्यान्सरपछि पनि जीवन छ। कोही मेरा परिचित वा साथीभाइ क्यान्सरसँग जुध्दै छन् भने म उसको निम्ति प्रेरणाको स्रोत बन्न चाहन्छु। उसलाई जिन्दगीसँग लड्ने हौसला दिन चाहन्छु।

मेरो कथाको ठूलो अंश, मेरो जिन्दगीको उतारचढाव, मैले कमाएको नाम, प्रतिष्ठा, ग्ल्यामर, मैले भोगेको क्यान्सरको दुरावस्था, त्यो दर्दनाथ किमोथेरापी र मृत्युको सामना– यी सबै कुनै अप्रत्यासित घटना मात्र होइनन्। जिन्दगीका त्यस्ता पल हुन्, जसले मलाई जिन्दगीको अर्थसँग साक्षात्कार गरायो। मैले यसबाट जिन्दगीका केही सामान्य पक्षहरू बुझेँ। ती सामान्य थिए, त्यही भएर हामीले सधैं बेवास्ता गर्यौं। मानौं, हाम्रो जिन्दगीमा त्यसको कुनै मतलबै छैन।

सामान्य लाग्ने तर जिन्दगीमा गहन अर्थ राख्ने ती पक्षहरूमा सबभन्दा पहिला त, यो हाम्रो जिन्दगी एउटा उपहार हो। 

मलाई थाहा छ, यो धेरै भनिँदै र सुनिँदै आएको कुरा हो। तर, सत्य यही हो। हाम्रो जिन्दगी एउटा उपहार हो। जिन्दगीसँग जोडिएर आउने हरेक चिज उपहार हुन्। हाम्रो यो शरीर नै उपहार हो। यसलाई हामीले सम्भार गर्नुपर्छ। ख्याल राख्नुपर्छ। यो शरीर पाएकोमा आभारी हुनुपर्छ। यसलाई मायाले अंकमाल गर्नुपर्छ। यो जिन्दगीको यात्रामा हामीसँग ठोक्किन आइपुग्ने ती सबै मान्छे पनि उपहार हुन्।

दोस्रो, आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुको महत्व। हामीले आफ्नो अन्तरआत्मामा पौडिएर आफ्नो अस्तित्वको महत्व बुझ्नुपर्छ। आफ्नो सत्यलाई महसुस गर्नुपर्छ। आफ्नो सत्यमा बाँच्नुपर्छ। 

हामीसँग समय थोरै छ, त्यसैले हामीले आफ्नो जिन्दगी जतिसक्दो धेरै बाँच्नुपर्छ, अर्थपूर्ण रूपमा। हामी कोही पनि अर्काको जिन्दगी बाँच्दैनौं। अर्कालाई ठिक वा सही लागेको जिन्दगी हामी किन बाँच्ने? हामीले आफ्नो जिन्दगी बाँच्नुपर्छ। आफ्नो इच्छाअनुसार, आफ्नो सर्तमुताबिक। यसका लागि हामीले आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुपर्छ। त्यस्तो चिजको खोजी गर्नुपर्छ, जसले हामीमा उत्प्रेरणा जगाउँछ। हामीलाई एउटा असल जिन्दगी बाँच्न घच्घच्याउँछ। ताकि, हरेक दिन आफ्नो अन्तरआत्माले मागेअनुसार हामी स्पष्ट र प्रेमपूर्वक बाँच्न सकौं। 

तेस्रो, हामीले जति नै तयारी गरे पनि जिन्दगीका विभिन्न मोडमा आश्चर्यहरू ठोक्किन आइपुग्छन्। जिन्दगीले हामीलाई पत्तै नदिई नयाँ–नयाँ चुनौती दिइरहन्छ। हामीले त्यसको तयारी गर्ने मौकै पाउँदैनौं। तर, हामी छनौट गर्न सक्छौं। हामी कि त जिन्दगीले दिने ती आश्चर्यहरूबाट आहत भएर, त्यसैको दुःखमा पिल्सिएर बाँच्न सक्छौं वा त्यसलाई आफ्नो क्षमता निखार्ने चुनौतीका रूपमा प्रयोग गर्न सक्छौं। कस्तो जिन्दगी बाँच्ने, त्यो छनौट गर्ने अधिकार हामीसँगै छ।

जिन्दगीले दिने ती अप्रत्यासित चुनौती र समस्याका पछाडि एउटा सन्देश भने सधैं रहन्छ– हामीले जस्तोसुकै कठिन अवस्थालाई पनि आफ्नो विजयको कथा बनाउन सक्छौं, आफ्नो बुद्धिमता र साहसको उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छौं। र, यो सामर्थ्य हामीभित्रै छ।

(अभिनेत्री मनीषा कोइरालाद्वारा भारतको जयपुरमा हालै आयोजित ‘टेड जयपुर’ मा अभिव्यक्त भनाइको अनुवाद)

Source: सेतोपाटीपाटी

Wednesday, October 26, 2016

'आफ्नो वेबसाइटको ट्राफिकलाई 'क्यास'मा 'कन्भर्ट' गर्ने माध्यम हो डमरु' ।

सूचना प्रविधिको विकाससंगै इन्टरनेटको माध्यमबाट गरिने बिज्ञापन 'अनलाइन एड'को लोकप्रियता अहिले बढ्दो छ । नेपालमा पनि गुगलको 'गुगल एडसेन्स' कार्यक्रम लोकप्रिय छ । गुगल एडसेन्सलाई आफ्नो ब्लग वा वेबसाइटमा हालेर, आफ्नो पेजमा आउने 'भिजिटर'को आधारमा पैसा आउंछ । 'गुगल एडसेन्स' बाहेक नेपालमा अन्य 'एड नेटवर्किङ्ग' सेवा पनि छन् तर सबै बिदेशी नै हुन् ।



Source: bizpati

Wednesday, October 12, 2016

मेगा बैंक बाफिया विपरित चलेको खुलासा, सञ्चालकको योग्यता नै अपुग ! (हेर्नुहोस् प्रमाण)

काठमाडौँ - नेपालको चर्चित बैंक भनेर कहलिएको मेगा बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था ऐन २०६३ विपरित चलिरहेको खुलासा भएको छ । बैंकका सञ्चालक मदन कुमार आचार्यको योग्यता अपुग भएको तथ्यसँगै मेगा बैंक बाफिया विपरित चलेको खुलासा भएको हो । मेगा बैंकका संचालक रहेका मदन कुमार आचार्यको विवरणमा शैक्षिक योग्यता प्रमाणपत्र तह लेखिएको छ ।



Source: arthasarokar

AddToAny