Sunday, May 28, 2017

नेपाल राष्ट्र बैंकको मिसन ८ अर्बको परीक्षामा २८ बाणिज्य बैंकहरु सफल, यसरि पुग्ने छ तोकिएको चुक्ता पुंजी (रिपोर्ट)

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुसंग अब मात्र १ महिना १८ दिन बाँकी छ। करिब डेढ महिनाको छोटो अवधि भित्र बाणिज्य बैंकहरुले कसरि चुक्ता पुंजी ८ अर्ब पुर्याउलान भन्ने चाँसोको बिषय समेत बनेको छ।


राष्ट्र बैंकले अहिले संचालनमा रहेका २८ बाणिज्य बैंकलाई घटाएर थोरै संख्यामा बलिया बाणिज्य बैंक बनाउने उदेश्यले मर्जर नीति अघि सारेको थियो। यद्दपी अधिकांश बाणिज्य बैंकहरुले कमर्शियल बैंकहरुमै टिकिरहन हकप्रदको सहारा लिएका छन् भने केहि बैंकहरुले बिकास बैंक तथा अन्य वित्तीय संस्थालाई प्राप्ति गरि आवश्यक पुंजी थप गरेका छन। स्ट्यान्डर्ड चार्टड बैंक लगायतका केहि बैंकहरुले चुक्ता पुंजी ८ अर्ब पुर्याउन फर्दर पब्लिक अफारिङ, एफपीओको सहारा समेत लिएका छन। 

एभरेष्ट बैंक लगायतका केहि बैंकहरुले भने मर्जर गरि चुक्ता पुंजी बढाउँन प्रोत्साहन स्वरूप ल्याएको कर छुटको फाइदा लिनका लागि वित्तीय संस्थालाई गाभ्ने रणनीति अख्तियार गर्न लागेको पाइएको छ। 

बैंकहरुले २०७४ असार मसान्त भित्र आ-आफ्नै ढंगबाट राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन तयारी गरेको अवस्थामा लगानीकर्ताको चाँसोलाई सम्बोधन गर्न बिजपाटी डटकमले यो रिपोर्ट प्रस्तुत गर्ने प्रयास गरेको छ। यस रिपोर्टमा उल्लेख्य विवरण बैंकहरुले प्रस्तुत गरेको पुंजी वृद्धि योजना तथा प्राप्त जानकारीका आधारमा तयार गरिएकाले यसमा उल्लेख्य तथ्यांक सत्य नजिक रहे पनि अन्तिम भने नरहेको जानकारी गराउन चाहन्छौं। साथै आज २०७४, जेठ १२ गतेसम्म बुक क्लोज भएका बैंकहरुको हकप्रदलाई पुंजिकृत गरि चुक्ता पुंजीमा देखाइएको छ।

कृषि बिकास बैंक (ADBL)
कृषि बिकास बैंकले चालु आर्थिक बर्षको कमाईबाट न्युनतम १३ प्रतिशत बोनस सेयर दिएपछि उसको चुक्ता पुंजी ८ अर्ब सजिलै पुग्ने छ। 

बैंक अफ काठमान्डू (BOKL)
बैंक अफ काठमान्डू र लुम्बिनी बैंक मिलेर बनेको बैंक अफ काठमान्डूले प्रिमियममा संस्थापक सेयर बिक्रि गर्ने तयारीमा रहेको छ। एफपीओ बिक्रि तथा वितरण पश्चात प्राप्त प्रिमियम बापतको रकम र यस आर्थिक बर्षको कमाईबाट न्युनतम २८ प्रतिशत बोनस सेयर वितरण गर्दा बिओकेको पनि चुक्ता पुंजी ८ अर्ब पुग्ने देखिन्छ। 

सिभिल बैंक (CBL)
बाणिज्य बैंकहरु मध्य कै कम्जोर देखिएको सिभिल बैंकको ४० प्रतिशत हकप्रद पाइपलाइनमा रहेको छ। बैंकले ३० प्रतिशत हकप्रदलाई संशोधन गरी ४० प्रतिशत बनाएर बार्षिक साधारण सभाबाट पारित गरिएको हो। 
युनिक फाइनान्स, आइसीएफसी फाइनान्स र हामा मर्चेन्टलाई प्राप्ति पश्चात बैंकलाई स्वाप रेसियोबाट ५३ करोड ७३ लाख प्राप्ति भएको छ। बैंकले पाइपलाईनमा रहेको ४० प्रतिशत हकप्रद बिक्रि गर्दा बिक्रि नभएको हकप्रद लिलाम बढाबढमा बिक्रि गर्दा पनि प्रिमियममा आउने रकम थप हुन पुग्ने छ। बैंकले कम्तिमा १३ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुंजी ८ अर्ब पुर्याउन यो आर्थिक बर्ष न्युनतम ४५ करोड कमाई गर्नु पर्ने छ। 

सेन्चुरी कमर्शियल बैंक (CCBL)
बाणिज्य बैंकहरुमै कान्छो बैंकको रुपमा संचालनमा आएको सेन्चुरी कमर्शियल बैंकले पनि सहजै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने अवस्थामा रहेको छ। सेन्चुरीले इन्नोभेटीब र अरनिकोको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछिको कायम चुक्त पुंजीको ४० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। ४० प्रतिशत हकप्रद बिक्रि र सगरमाथा फाइनान्स तथा अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्त गरेपछी कायम हुन आउने पुंजीमा यस आर्थिक बर्षको कमाइबाट न्युनतम ९ प्रतिशत बोनस सेयर वितरण गरि चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ।
आज बुक क्लोज रहेको अल्पाइनको ७९ दशमलब ३३ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात आउने पुंजीबाट समेत सेन्चुरी बैंकको चुक्ता पुंजी ८ अर्ब बढी पुग्ने छ। 

सिटिजन बैंक (CZBIL)
सिटिजन बैंकको २५ प्रतिशत हकप्रद पुंजीकृत गर्दा चुक्ता पुंजी ६ अर्ब ९२ करोड पुगेको छ। बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गर्दा पनि सजिलै चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

एभरेष्ट बैंक (EBL)
एभरेष्ट बैंक ३३ प्रतिशत हकप्रद जारि गर्ने प्रक्रियामा रहेको छ। ३३ प्रतिशत हकप्रद बिक्रि गरि चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा ३३ प्रतिशत बोनस सेयर वितरण गर्दा पनि बैंकको चुक्ता पुंजी सजिलै ८ अर्ब पुग्ने छ। तर बैंकले बिशेष साधारणसभाबाट अर्को बैंक गाभ्ने उद्घोष गरेकाले लक्ष्मी या अन्य बैंक वा वित्तीय संस्थालाई गाभेको अवस्थामा बोनस बितरण नगरी चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ।

ग्लोबल आइएमई बैंक (GBIME)
ग्लोबल आइएमई बैंक रिलायबललाई गाभ्ने प्रक्रियामा रहेको छ। बैंकले रिलायबललाई ८० प्रतिशत स्वाप अनुपातमा गाभ्दा चुक्ता पुंजी सजिलै ८ अर्ब पुग्ने छ। 

जनता बैंक (JNBL)
जनता बैंक र त्रिबेणी बिकास बैंक मिलेर बनेको जनता बैंक नेपालले यस आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। सिद्दार्थ डेभलपमेन्ट बैंकलाई पनि प्राप्ति गर्ने प्रक्रियामा रहेको जनता बैंकले यस आर्थीक बर्ष १ अर्ब माथि नाफा गर्न सक्ने , जनता र त्रिबेणीको अवितरित हकप्रद बिक्रिबाट प्राप्त प्रिमियम जोड्दा बैंकले सहजै १६ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। जनता बैंकले सहजै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने भएकाले यस अघि प्रस्ताब गरिएको ६० प्रतिशत हकप्रद प्रस्ताब रद्द गरेको छ। 

कुमारी बैंक (KBL) 
एनसीसी बैंकसंगको मर्जर प्रकृया तोडी आफै चुक्ता पुंजी ८ अर्ब पुर्याउने बाटो रोजेको कुमारी बैंकले ३ विकास बैंक र एक फाइनान्सलाई प्राप्ति गरेको छ। बैंकले काष्ठमण्डप, महाकाली र काक्रेबिहार विकास बैंक र पस्चिमान्चल फाइनान्सलाई प्राप्ति गरेको हो।
यस अवधिमा ५ अर्ब ९५ करोड चुक्ता पुंजी रहेको कुमारी बैंकले २० प्रतिशत हकप्रद बिक्रि गरेर या १ अर्ब बराबरको कुनै संस्था गाभेपछी कायम चुक्ता पुंजीबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर बितरण गर्दा चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। 

लक्ष्मी बैंक (LBL)
गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश (बोनस सेयर) खुवाउन बैंकले ३ हप्ताभित्र साधारणसभा डाक्ने योजनामा रहेको छ। यस अवधिमा ६ अर्ब ३१ करोड चुक्ता पुंजी रहेको लक्ष्मी बैंकले चालु आर्थिक बर्षको कमाईबाट न्युनतम ९ प्रतिशत बोनस सेयर वितरण गरेपछि सजिलै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। यद्दपी लक्ष्मी बैंकलाई एभरेष्ट बैंकले करिब ४२ प्रतिशत स्वाप अनुपातमा प्राप्ति गर्ने चर्चा बजारमा छ। 
लक्ष्मी बैंकलाई ४२ प्रतिशतको स्वाप अनुपातमा गाभ्दा पनि एभरेष्टको चुक्ता पुंजी सहजै ८ अर्ब पुग्ने भएकाले एभरेष्टलाई चालु आर्थिक बर्षको कमाईबाट ३३ प्रतिशत बोनस सेयर दिने बाध्यता रहने छैन। 

माछापुच्छ्रे बैक (MBL)
१२ प्रतिशत हकप्रद निष्काशन तथा बिक्रिको प्रक्रियामा रहेको माछापुच्छ्रे बैंकले यस आर्थिक बर्षको कमाईबाट कम्तिमा ८ प्रतिशत बोनस सेयर वितरण गरेपछी चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

मेगा बैंक (MEGA)
मेगा बैंकले ६५ प्रतिशत हकप्रद बिक्रि गरेपछी र टुरिजम डेभलपमेन्ट बैकलाई ९५ प्रतिशतको स्वाप अनुपातमा गाभेपछी मेगा बैंकको चुक्ता पुंजी ९ अर्ब ६७ करोड माथि पुग्ने छ। 

नबिल बैंक (NABIL)
नबिल बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा २९ प्रतिशत बोनस सेयर वितरण गरेपछी उसको चुक्ता पुंजी सहजै ८ अर्ब पुग्ने छ। 

नेपाल बंगलादेश बैंक (NBB)
भर्खरै १० बराबर ८ कित्ताका दरले हकप्रद निष्काशन तथा बिक्रि गरेको नेपाल बंगलादेशले करिब १६ लाख कित्ता बराबर अवितरित हकप्रद लिलाम बढाबढमा बिक्रि गर्नु पर्ने छ। यसबाट बैंकले (२५० प्रिमियम मुल्यमा बिक्रि गर्दा) करिब ४० करोड रुपैयाँ प्रिमियम संकलन गर्ने छ। 
चालु आर्थिक बर्षको कमाई र प्रिमियम संकलनको रकमबाट बैंकले यस आर्थिक बर्ष सजिलै ११ प्रतिशत बोनस सेयर वितरण गर्न सक्ने छ। कम्तिमा ११ प्रतिशत बोनस सेयर बितरण गरेपछी बैंकको चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

नेपाल बैंक (NBL)
नेपाल बैंकले भर्खरै मात्र २३ दशमलब ३४ प्रतिशत हकप्रद बिक्रि गरेको छ। बैंकले हकप्रद बिक्रि तथा वितरण गर्दा बिक्रि नभएको हकप्रदबाट प्रिमियम संकलन गर्ने छ यद्दपी हकप्रद वितरण गरेपछी सजिलै चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (NCCB)
गत बर्षको कमाईबाट १२ प्रतिशत बोनस सेयर बितारण र ५० प्रतिशत हकप्रद (पुनरावलोकन हुन् सक्ने) निष्काशन तथा बिक्रि गरेपछी बैंकको चुक्ता पुंजी ७ अर्ब ५८ करोड हाराहारी पुग्ने छ। बैंकले यस आर्थिक बर्षको कमाईबाट कम्तिमा ६ प्रतिशत बोनस सेयर वितरण गर्दा पनि बैंकको चुक्ता पुंजी सजिलै ८ अर्ब पुग्ने छ। 
एनसीसी बैंकले प्रोभिजनमा राखेको पैसा उठ्न सकेको अवस्थामा हकप्रद पुनरावलोकन हुन सक्ने छ। एनसीसीमा गाभिएका बिकास बैंकको स्वाप अनुपातबाट आउने ९३ करोड ६९ लाख र यस आर्थिक बर्षको कमाईबाट कम्तिमा ६ प्रतिशत बोनस सेयर बितरण गर्दा बैंकले सजिलै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। 

एनआईसी एसिया बैंक (NICA)
एनआईसी एसिया बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा २६ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB)
नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ। चुक्ता पुंजी १५ अर्ब पुर्याउने दौडमा रहेको नेपाल इन्भेष्टमेन्टको चुक्ता पुंजी ९ अर्ब २४ करोड रहेको छ। बैंकले प्रिमियम बापत ५ अर्ब २५ करोड संकलन गरेको छ। 

नेपाल एसबिआई बैंक (SBI)
नेपाल एसबिआई बैंकको ४० प्रतिशत हकप्रद बुक गरिएकोले यसलाई पुंजिकृत गरिएको छ। बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा कम्तिमा १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

एनएमबि बैंक (NMB)
एनएमबि बैंकले एफपीओ बिक्रि गरेपछी कायम चुक्ता पुंजीबाट कम्तिमा ५ प्रतिशत बोनस सेयर वितरण गर्दा सजिलै चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

प्रभु बैंक (PRVU)
नेपाल धितोपत्रबोर्डबाट स्वीकृत प्राप्त भए पश्चात केहि हप्ताभित्र ४० प्रतिशत हकप्रदको बुक क्लोज गर्ने र उक्त हकप्रद निष्काशन तथा बिक्रि गरेपछी बैंकको चुक्ता पुंजी सहजै ८ अर्ब पुग्ने छ। 

प्राइम बैंक (PCBL)
प्राइम कमर्शियल बैंकले समयमै चुक्ता पुंजी ८ अर्ब पुर्याउन कम्तिमा ४० करोड पुंजी थप गर्नु पर्ने छ। यसका लागि बैंकलाई स्वाप अनुपातबाट प्राप्त प्रिमियम र चालु आर्थिक बर्षको कमाईले साथ दियो भने २७ प्रतिशत बोनस सेयर वितरण गरेर पनि चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। 
तर प्रिमियमबाट संकलन र यस आर्थिक बर्षको कमाईले साथ दिएन भने बैंकले करोड पुंजी थप गर्न त्यति पुंजी बराबरको अर्को वित्तीय संस्था प्राप्ति गर्नु पर्ने छ। वा बैकले यति रकम बराबर हकप्रद बिक्रि गर्नु पर्ने हुन्छ। बैंकसंग डेढ महिनाको अवधि मात्र भएकाले सम्भवत हकप्रद बिक्रि भन्दा अर्को वित्तीय संस्था प्राप्त गरि यस आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गर्यो भने सहजै चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ। 

राष्ट्रिय बाणिज्य बैंक (RBBL)
सरकारी स्वामित्वको राष्ट्रिय बाणीज्य बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि एकीकृत कारोबारका लागि राष्ट्र बैंकको स्वीकृतीको पर्खाईमा रहेको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी ९ अर्ब रहेको छ। 

सानिमा बैंक (SANIMA)
३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण गरेपछी र चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गरेपछी सानिमा बैंकको चुक्ता पुंजी सहजै ८ अर्ब पुग्ने छ। 

स्ट्याण्डर्ड चार्टड बैंक (SCB)
ठुलो परिमाणमा एफपीओ बिक्रि गरेपश्चात संकलन भएको प्रिमियम रकम र चालु आर्थिक बर्षको कमाईबाट (घोषित) शतप्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुंजी ८ अर्ब पुग्ने छ। 

सिद्दार्थ बैंक (SBL)
सिद्दार्थ बैंकको ३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण गरेपछि र चालु आर्थिक बर्षको कमाइबाट कम्तिमा १८ प्रतिशत बोनस सेयर वितरण गर्दा बैंकको चुक्ता पुंजी सहजै ८ अर्ब पुग्ने छ। 

सनराइज बैंक (SRBL)
सनराइज बैंकको ३० प्रतिशत हकप्रद बिक्रि तथा वितरण गरेपछि र यस आर्थिक बर्षको कमाईबाट कम्तिमा १३ प्रतिशत बोनस सेयर बितरण गर्दा चुक्ता पुंजी सजिलै ८ अर्ब पुग्ने देखिन्छ।


श्रोत: बिजपाटी, २०७४ साल जेष्ठ १२ गते शुक्रबार प्रकाशित

1 comment:

AddToAny