Showing posts with label Annual. Show all posts
Showing posts with label Annual. Show all posts

Saturday, September 16, 2017

सेयर लगानीका आधारभूत पक्षहरु !

पूँजीबजारको आधारभूत पक्ष नबुझेकाहरु जुवाघरको संज्ञा दिन्छन  जुवामा जीत बाहेक प्रतिफल हुँदैन र हारेको खण्डमा राखिएको बाजी एकैपटक गुम्छ तर सेयरबजारमा गरेको लगानी जुवामा जस्तो एकैपटक गुम्दैन सेयर लगानीमा जोखिम पक्ष भएपनि उचित व्यवस्थापन गर्न सक्नेले घट्दो मूल्यमा पनि नाफा आर्जन गर्न सक्छन वारेन बफेट भन्छन ‘म सेयरबजारबाट कहिल्यै पैसा कमाउने प्रयास गर्दिन र सेयर किन्दा भोलि नै बजार बन्द गर्छन र आगामी पाँच वर्षसम्म खोल्दैन भन्ने मान्यता राख्छु’  बफेटको भनाईलाई आत्मसात गरेर लगानी गर्नेले नाफा नकमाए पनि घाटा चाहिं खाँदैनन 

लेखक सेयर विश्लेषक एवं लगानीकर्ता हुन् !


प्रवेश विन्दु:

नवप्रवेशीले प्राथमिक बजारबाट सिक्न सकिन्छ  प्राथमिक सेयर जारी हुन लागेको जानकारीपत्रपत्रिकाबाट पाउन सकिछ  कुनै पनि कम्पनी सेयरबजारमा आउनु अघि धितोपत्र सम्बन्धि कानुनको पालना गरि तोकिएका शर्त पुरा गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिन्छ  सेयर किन्नु अघि धितोपत्र सम्बन्धि प्रचलित कानुनको परिपालना भइ स्वीकृत प्राप्त हो कि हैन बुझ्नुपर्छ  सेबोनलेस्वीकृति दिएपछी प्राथमिक सेयर जारी हुन्छ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएर कारोबार हुन्छ  प्राथमिक र हकप्रद सेयर कहिले आउँछ सेबोनको वेवसाइटमा राखिएको हुन्छ 

सेयर जारी गर्ने कम्पनी:


नेपालको सन्दर्भमा बैंक र बिमाले अनिवार्यरुपमा यसका नियमकले तोकेबमोजिम सेयर बेच्नैपर्ने व्यवस्था छ जलविद्युत, दूरसञ्चार, उत्पादन, प्रशोधन तथा होटेलहरुले स्वेच्छिकरुपमा सेयर जारी गरेका छन्  यस्ता कम्पनीले धितोपत्र सम्बन्धि प्रचलित कानून पालना गरेर आएका खण्डमा सेयर जारी गर्ने स्वीकृति पाउँछन्  धितोपत्र निष्काशन सम्बन्धि नियमावलीले वास्तविक क्षेत्रका कम्पनीलाई पनि सेयर जारी गराउन प्रोत्साहन गर्न खोजेको छ  प्रचलित व्यवस्था अनुसार प्रति एक सेयरको चुक्ता मूल्य १ सय हुन्छ  १ सय रुपैयाँमा बेच्ने प्रक्रियालाई परल मूल्य भनिन्छ तोकिएका शर्त पुरा गरेका कम्पनीले परल मूल्यमा केहि थप गरेर बेच्न पनि पाउँछन यसलाई प्रिमियम मूल्य भनिन्छ म्युचुअल फण्डको प्रति इकाई चुक्ता मूल्य रु. १० हुन्छ 

सेयरको दोस्रो बजार:


प्राथमिक सेयर जारी भइ बाँडफाँड भएपछी कारोबारको लागि नेप्सेमा सूचीकरण हुन्छ  दोस्रो बजारमा सेयर कारोबार गराउनको लागि नेप्सेले आफनो सदस्यको रुपमा दलाल तोकेको छ  दलालको सूचीनेप्से वा सेबोनको वेबमा हेर्न सकिन्छ  दलालको कार्यालयमा गएर सम्पूर्ण व्यहोरा खुल्ने ‘ग्राहक पहिचान फारम’ भरेपछि प्राप्त हुने कसैसँग नमिल्ने छुट्टै ग्राहक संकेत मार्फत कारोबार गर्नुपर्छ पारिवारिक सेयर कारोबार नगरी सिधै नेप्सेले नामसारीको लागि कम्पनीलाई पत्राचार गरिदिन्छ  आफू-आफू बीच कुनै करार गरि वा नगरी अन्य सम्पती जस्तो सेयर किनबेच गर्न सकिन्न  किनेका सेयर विद्युतीय स्वरुपमा भण्डारण गर्नको लागि अभौतिकीकारण (डिम्याट) खाता खोल्नुपर्छ यसलाई हिताग्राही खाता (बिओ) पनि भनिन्छ  यो बैंक खाता जस्तै हो र यसमा सेयर भण्डारण हुन्छ  यस्तो खाता खोल्नको लागि निक्षेप सदस्य (डिपी) को रुपमा कार्य गर्न सेबोनले बिभिन्न मर्चेन्ट बैंक, वाणिज्य बैंक, वित्त कम्पनी र दलाललाई अनुमति दिएको छ  विओ खातामा हुने शुरुको आठ अंक डिपी नं. र पछिल्लो आठ अंक ग्राहक नं. हो  यो नम्बर प्राथमिक र हकप्रद सेयर आवेदन फारममा समेत निर्दिष्ट स्थानमा उल्लेख गर्नुपर्छ  दोस्रो बजारमा कारोबार गर्न जाँदा अग्रिम रकम भुक्तान गर्नुपर्छ भन्ने अनिवार्य छैन तर भर्खर आएकालाई भने शुरुशुरुमा अग्रिम रकम बुझाउनुपर्ने पनि हुनसक्छ  तर कारोबार गर्दै गएपछि अग्रिम दिनुपर्ने हुँदैन 

बजारसम्बन्धि सूचना:


सेयरबजारमा कारोबारको लागि प्रवेश गरेपछि कुन कम्पनीको सेयर किन्ने, कहिले किन्ने, कहिले बेच्ने यस्ता सूचना र जानकारी बिभिन्न स्रोतबाट लिएर त्यसको प्रशोधन गर्नुपर्छ  यस्ता जानकारीका लागि नेप्से, सेबोन, नेपाल राष्ट्र बैंक, विमा समिति जस्ता नियमकले बेलाबेलामा जारी गर्ने सूचना, परिपत्र निर्देशिका अध्ययन गर्नुपर्छ  त्यस्तै सम्बन्धित कम्पनीले प्रकाशन गर्ने त्रैमासिक वित्तीय विवरण र अन्य सूचनाको बारेमा जानकार हुनुपर्छ  लगानीकर्ताले आफूले लगानी गर्न चाहेको कम्पनीको वार्षिक प्रतिवेदन समेत अध्ययन गर्नुपर्छ  सेयरबजारसँग सम्बन्ध राख्ने कम्पनी ऐन, नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, विमा ऐन/नियमावली, धितोपत्र सम्बन्धि ऐन/नियमावलीको सामान्य जानकारी लिनुपर्छ 

कस्ता कम्पनी रोज्ने:


कस्ता कम्पनी रोज्ने यो अलि जटिल विषय हो  तैपनि सूचना र जानकारी लिएको खण्डमा मुश्किल पर्दैन अर्काले के किन्यो वा बेच्यो भनेर चियोचर्चो गर्नु भन्दा आफूले के र कस्तो किने भन्ने मूल प्रश्न हो सेयरबजार कति बेला झर्छ र बढ्छ भन्ने कुनै निश्चित सुत्र छैन जुनसुकै बेला तलमाथिहुनसक्छ  नेपालको सन्दर्भमा सामान्यतया श्रावणदेखि पौष मसान्तसम्म बढ्ने र त्यसपछिको तीन महिना तल झर्ने समय हो  बैशाख लाग्दा तेश्रो त्रैमासिक वित्तीय विवरण आएपछि सामान्य बढ्दै जाने क्रम शुरु हुन्छ तर यस्तै हुन्छ भन्ने छैन  बढ्ने बेला घट्ने र घट्ने बेला बढ्ने पनि देखिएको छ कम्पनी रोज्दा कम्पनीले विगतमा दिएको प्रतिफल र चालु अवधिको वित्तीय विवरण कस्तो छ त्यसको विश्लेषण गर्नुपर्छ  सेयरमा लगानी गरेर एकैपटक कमाउने सपना देख्नु भन्दा बैंकले दिने व्याजदरसँगपनि तुलना गर्नुपर्छ  बैंकमा राख्दा कति आँउथ्यो र सेयरमा लगानी गरेर कति आउँछ त्यसको लेखाजोखा गर्नुपर्छ  मूल्य आम्दानी अनुपात, खूद सम्पति, कूल सम्पति, प्रतिसेयर आम्दानी, संचित नोक्सानी, संचालन खर्च जस्ता आधारभूत कुराको जानकारी लिनुपर्छ  यी उल्लेखित सूचक सामान्यतया सबै कम्पनीको हकमा लागू हुन्छ  यसवाहेक बैंक, बिमा, जलविद्युतका आ-आफ्नै सूचक पनि हुन्छन  बैंकको हकमा खराब कर्जा, पूँजीकोष, निक्षेप-कर्जा अनुपात, लागत मूल्य, आधार दर, स्प्रेड दर जस्ता सूचक पनि महत्वपूर्ण हुन्छन्  लगानी गर्दा ‘बथान प्रवृति’ देखाउनु हुन्न  सन् २०१०/११ मा बंगलादेशको सेयरबजारमा घटेको घटनामा ‘बथान प्रवृति’ हावी देखिएको थियो जसको परिणामस्वरूप लाखौं बंगाली लगानीकर्ताले करोडौं गुमाएका थिए 

सेयरबाट पाइने लाभ:


सेयर लगानी गर्दा दुई प्रकारले लाभमा सहभागी बन्न सकिन्छ  पहिलो, बढ्दो मूल्यबाट पूँजीगत लाभ र दोस्रो, कम्पनीले वार्षिकरुपमा वितरण गर्ने प्रतिफल पाउन सकिन्छ  बफेटको ‘पाँचवर्षसम्म बजार खोल्दैनन’ भन्ने सन्दर्भ सम्भवत दोस्रो लाभप्रति लक्षित हुनुपर्छ  सेयरबजार प्रायश: अस्थिर नै हुने गर्छ  निरन्तर घटिरहने र बढिरहने भन्ने हुन्न  यसको चरित्रलाई झन्डै रोटेपिंगसँग तुलना गर्न सकिन्छ  तलमाथि हुनु नै रोटेपिंगको मजा हो  सेयरबजार पनि यहि तलमाथिको चक्रमा चलिरहन्छ  रोटेपिंगमा माथि पुगेर मजा लिए जस्तो सेयरको भाउ माथि चढेको बेला बेच्न सक्नुपर्छ  कतिबेला बेच्ने र किन्ने समयको तालमेल मिलाउन सकिएन भने पूँजीगत लाभबाट बन्चित हुनुपर्छ  पूँजीगत लाभ लिन पनि नसक्ने र प्रतिफल पनि न्यून भएका कम्पनीमा लगानी गर्दा मूलधन समेत गुम्न सक्छ  त्यसैले प्रतिफल दिनसक्ने क्षमतालाई पनि लगानीको एउटा आधार बनाउनुपर्छ  लागत र लाभको उचित तालमेल मिलाउन सक्नेको लागि सेयरबजारमा गरिने लगानी दीर्घकालीन निवृतिभरण पनि हुनसक्छ 



श्रोत: कारोबार दैनिक, २०७३ साल चैत्र १३ गते आइतबार !

यो पनि पढ्ने कि !
बढ्नु र घट्नु सेयर बजारको नियमित चक्र !
शेयरमा लगानी गर्दा ध्यान गर्नु पर्ने कुरा "धैर्य गरौँ, सेयर बजारमा सोच्दै नसोचेका कुराहरु एकदिन 'एकादेशको कथा'बन्नेछ" (रोहन शर्माको ब्लग)
Know 3 Ways How You Can Lose All of Your Money in the Stock Market !
सेयर बजारमा अबको लगानी, यसरी बनाऔं तीन चरणमा रणनीति ।
लगानी फाल्न हतार नगर्नुहोस्, हेर्नुहोस्, यस्ता छन् १० उत्कृष्ट कम्पनीमा तत्काल अर्बौँ लगानीको अवसर (आईपीओ, एफपीओ र लीलामीसमेत), कुन कम्पनीको अवस्था के र लगानी कति गर्ने त ?
घाटा नखाने भए यसरी गर्नुस लगानी ।
बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो ।

Sunday, June 4, 2017

विचार/विश्‍लेषण: बैंकको ब्याज !

एक मित्रले एउटा बैंकबाट घर बनाउन ऋण लियो । १० प्रतिशत ब्याजमा लिएको ऋण केही वर्षअघि बढाएको बढायै गरेर १६ प्रतिशत पुग्यो । बीचमा यस्तो अवस्था आयो, बैंकहरूले ब्याज घटाउन थाले । नयाँ ऋणीले ६ प्रतिशतसम्ममा पाउन थाले । उसको १६ प्रतिशत घटेन । ऋणीलाई एक शब्द नसोधी आफूखुसी ब्याज बढाउने बैंकले आफैं घटाउने त कुरै थिएन, आग्रह गर्दा बल्ल १३ मा झार्‍यो । त्यसबाट तल झार्न टसको मस भएन । उसले अर्को बैंकमा ऋण सार्न चाह्यो । त्यहाँ साढे ७ प्रतिशतमा पायो । जग्गाको पुन: मूल्यांकन, सेवा शुल्कसहित जोड्दा ५० हजारभन्दा बढी अतिरिक्त खर्च गरेर ऋण सार्‍यो । एक वर्ष नभई उसले पनि बढाउन थाल्यो । ११ प्रतिशत पुर्‍याइसकेको छ ।


फेरि अर्कामा सारौ भने सबैले मिलेर ब्याज बढाएका छन् । केही समयपछि ब्याज घटाउने लहर चल्यो भने उसको घट्दैन । बरु अर्कामा सार्न ‘अफर’ आउँछ । त्यति बेला हजारौं सेवा शुल्क र प्रशासनिक खर्च लाग्छ । यसरी ब्याजलाई वल्टाइपल्टाइ गर्ने ‘लंगुरबुर्जा’ खेलाउने आकर्षक कार्यालय भएका निकायलाई हामी बैंक भनिरहेका छौं । तिनले ब्याजको यस्तो खेल खेलाउँछन् जसमा आफू कहिल्यै हार्दैनन् । कसैलाई घरिघरि जिताएजस्तो गराएर धेरैलाई लोभ्याउँछन्, खेल्नेलाई जहिल्यै हराइदिन्छन् । अनि, वर्ष–वर्षमा फलाना बैंकको यति अर्ब नाफा, उति अर्ब नाफा भनेर तथ्यांक सार्वजनिक गर्छन् । त्यसो गर्दा मैले कति ऋणीलाई रुवाएँ, अनधिकृत पैसा कति उठाएँ भनेर कहिल्यै खुलाउँदैनन् ।

अहिले सर्वसाधारण त्यसरी नै रोइरहेका छन् । बैंकले आफूखुसी बढाएको ब्याज चुपचाप तिर्न बाध्य छन् । कुनै व्यवसाय गर्नेले पहिला योजना बनाउनुपर्छ, बजेटिङसहित । त्यही आधारमा ऋण लिएका हुन्छन् । ब्याज यति तिर्नेछु भनेर खाका बनाएका हुन्छन् । बैंक पनि बैंक पद्धतिबाट चल्नुपर्छ, योजना हुनुपर्छ । बैंकलाई अनुमति दिंदै उसका कार्ययोजना हेरिनुपर्छ । त्यसमा कर्जा र बचतको ब्याज, त्यसको प्रतिफल, सम्भावित लगानी र बचतका क्षेत्र, त्यसको स्थिरतालगायत केलाउनुपर्छ । ब्याज घटाउने र बढाउने गर्न पाइने छैन भन्ने कडा सर्त राखिनुपर्छ । तर, नाफा घट्नुलाई बैंकहरू घाटा भन्छन् । कहिले घटी, कहिले बढी नाफा अवश्य हुन्छ । त्यसमा आत्तिएर सर्वसाधारणमाथि भारी बोकाउँछन् । बैंक कुन त्यस्तो सर्वाधिकारसम्पन्न व्यवसाय हो, जसलाई लापरबाही गरेर चलाउँदा पनि नाफा नै हुन छुट मिलोस् ? त्यसमा राष्ट्र बैंकले अंकुश लगाइदिनुपर्छ । 

बजारमा आर्थिक हलचल हुनासाथ हल्लिनु बैंकको आफ्नो कमजोरी हो । आफ्नो गल्तीको सजाय ऋणीलाई दिनु हुँदैन । तिर्न सक्ने हैसियत वा स्रोत छ/छैन हेरेर, तौलिएर बैंकले ऋण प्रवाह गरेका हुन्छन् । उसलाई ब्याज बढाएर त्यसभन्दा बढ्ता भार बोकाउँदा तिर्न सक्दैन भन्ने सर्वसिद्ध विषय हो । त्यो ऋण डुब्ने जोखिम हुन्छ । त्यसैले बेला–बेला ब्याज बढाउने बतासे काममा बैंक लाग्नुहुँदैन । बजारमा उपभोग्य वस्तुको मूल्य बढ्छ, सर्वसाधारणले तिर्नुपर्ने । बैंकको ब्याज बढ्छ, सर्वसाधारणले तिर्नुपर्ने । तिनको कमाइँचाहिँ कहिल्यै नबढ्ने । कहाँबाट सक्छन् धान्न ? राष्ट्र बैंकले त्यस्ता ऋणीलाई किन कहिल्यै हेर्दैन ? 

अर्कातिर संस्था बचाउने नाममा सर्वसाधारण मार्ने नीति नियम अन्त्य गरिनुपर्छ । ‘आवश्यक परे बैंकले स्वविवेकले ब्याज घटबढ गर्न सक्नेछ’ भने ऋण लिंदा कागजमा सर्त घुसाउन बन्द गरिनुपर्छ । जसरी सर्तअनुसार नतिर्दा ऋणीको धितो लिलाम हुन्छ, बैंकले सर्त उल्लंघन गर्दा उसको के लिलाम गर्ने ? ऋणी टाट पल्टिँदा बैंकले जायजेथाबाट उठाउन मिल्ने, बैंक टाट पल्टिन थाल्यो भने चाहिँ ऋणीले नै जायजेथा बेचेर बढी ब्याज तिरी नाफा दिलाइदिनुपर्ने ? बैंकलाई यस्तो जथाभावी गर्ने असीमित अधिकार कसले दियो ? किन त्यसमा कोही बोल्दैन ? 

सत प्रतिशतसम्म लगानी, ६ प्रतिशतभन्दा तल ब्याजमा सवारी साधन किन्न बैंकले माछा पसलमा जस्तो ग्राहक बोलाउँदा राष्ट्र बैंक टोलाएर बस्यो । त्यसरी पैसा सकेपछि लगानीयोग्य पुँजी कहाँबाट रहन्छ ? गत वर्ष ब्याज घटाउने होडबाजी चल्यो, यति बेला बढाउने । त्यो पनि बैंकलाई फाइदै फाइदा दिलाउने नाममा । बैंक डुब्न लागे भने जोगाउने काम राज्यको हो, सर्वसाधारणको होइन । 

बकम्फुसे ‘अफर’ ल्याएर ह्वार्र पैसा बटुल्ने, जथाभावी छर्ने, अनि पैसा छैन भनेर फेरि ऋणको ब्याज बढाउने– कहाँसम्मको अत्याचार हो ? सस्तो ब्याजमा दिन्छु भन्दै एउटा बैंकको ऋणीलाई अर्को बैंकमा तान्ने, अनि केही समयमा ह्वात्तै ब्वाज बढाएर ढाडमा बञ्चरोले हान्ने– कहाँसम्मको नीचता हो ? खोज्दै जानुभयो भने बैंकहरूको कार्टेलिङले उपभोक्ता सताइएका छन् । कर्जाको ब्याज बढाउँदा सबै मिल्छन् । विस्तारै केही खुकुलो देखिन्छन् । एउटाको ग्राहक अर्काले तान्छन् । सेवा शुल्कका नाममा उसबाट असुल्नु असुल्छन् । फेरि ब्याज बढाएर थला पार्छन् । राज्य टुलुटुलु हेर्छ । बैंक बदल्ने ऋणी कति छन्, के आश्वासनमा बदले, उता गएर कसरी फसे भन्ने राष्ट्र बैंकले कहिल्यै अध्ययन गरेको छ ? 

त्यसैले अब ऋणीले पनि अधिकारका लागि बोल्नु जरुरी छ । कागजमा जति लेखिएको छ, त्यति ब्याज तिरेर चुपचाप बस्ने बेला भएको छ । त्यसमा बैंकले गडबड गरे र ऋणीका पक्षमा राष्ट्र बैंक नबोले अदालतकै ढोकामा पुगेर किन नहोस्, मनपरी नियन्त्रण गर्नुपर्छ । ऋणी ‘ख’ र बैंक ‘क’ वर्ग होइन, दुवै समान वर्ग हुने वातावरण बनाइनुपर्छ । जसरी ऋणीका लागि बैंक चाहिन्छ, बैंकका लागि ऋणी पनि चाहिन्छ । त्यो दुवैले बुझ्नुपर्छ । न ऋणीले चाहेर ब्याज घटाउन सकोस्, न बैंकले चाहेर बढाउन ।

श्रोत: कान्तिपुर, फाल्गुन १६, २०७३

AddToAny