Tuesday, August 15, 2017

अनलाईन आस्वा (ONLINE ASBA) दिने बैंकहरु कुन् कुन् हुन् ? घरबाटै गर्नुहोस् सेयर आवेदन !

धितोपत्र बजारको नियामक निकाय धितोपत्र बोर्डले साउन १ गतेदेखि साधारण सेयरमा आवेदन गर्दा पुर्ण रुपमा नै आस्बा प्रणालीबाट आवेदन गर्नुपर्ने व्यवस्था लागू गरेपछि बाणिज्य बैंकहरुले अनलाईन आस्बा सेवा सुरुवात गरेका छन् । प्रणाली कार्यान्वयनमा आएपश्चात पचहत्तरै जिल्ला तथा विदेशमा रहेका नेपालीले समेत अनलाईन आस्वा प्रणाली मार्फत साधारण सेयरमा आवेदन गर्न पाउने भएका छन् ।


केहि समय अगाडिबाट नै अनलाईन आस्बा सेवा दिन थालेका नेपाल एसबिआई (SBI) र इन्भेष्टमेन्ट बैंक (NIB) का अतिरिक्त अन्य छ बाणिज्य बैंकहरु ग्लोबल आईएमई (GBIME), एनआईसी एशिया (NICA), सानिमा (SANIMA), प्रभु (PRVU), सिटिजन्स् (CZBIL), र टुरिजम् डेभलपमेन्ट (TDBL) बैंकले यो सुबिधा थप गरेका हुन् । 

यससँगै साउन २७ गतेदेखि निष्काशन खुला भएको नेपाल हाईड्रो डेभलपर कम्पनी (NHDL) मा लगानीकर्ताले पहिलो पटक अनलाईन आस्बाको (ONLINE ASBA) अनुभव गर्ने सुबिधा पाएका छन् । यसले अनलाईन आस्बा सुरु गरेका सबै बैंक तथा वित्तिय संस्थाका खातावालाले घरमा नै बसेर साधारण सेयरमा आवेदन दिन सक्ने व्यवस्थाको प्रारम्भ भएको छ ।आइतबारदेखि निष्काशन भएको पोखरा फाइनान्स (PFL) को थप नयाँ सेयर एफपीओमा पनि यो प्रणालीबाट आवेदन गर्न सकिन्छ । नेपाल हाइड्रोको साधारण सेयरमा न्युनतम पाँच हजार रुपैंयाको सेयर आवेदन गर्नु पर्ने हुन्छ भने पोखरा फाइनान्सकोमा दुई हजार दुई सय रुपैंयाको सेयर आवेदन गर्न सकिन्छ ।

आस्बालाई अझ छिटो छरितो गर्न आस्बामा सहभागी सबै वित्तीय संस्थाहरुलाई अनलाइन मार्फत दरखास्त लिने व्यवस्था गर्न धितोपत्र बोर्डले निर्देशन दिईसकेको छ । अब अर्को कुनै कम्पनीको सार्वजनिक निष्काशन हुँदा लगानीकर्ताले अहिलेकोभन्दा धेरै वित्तीय संस्थाबाट अनलाइन प्रणालीबाट सेयरमा आवेदन गर्न सक्नेछन् । यसले आईपीओ आवेदनमा धेरैभन्दा धेरै लगानीकर्तालाई सहभागि गराउन सम्भंव तुल्याएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासनमा २०७३ माघ १ गते देखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागू गरेको धितोपत्र बोर्डले साउन १ गतेदेखि पूर्ण रुपमा लागू गरेको हो । विगतमा सुस्त रहेको धितोपत्र बजारमा आस्बा प्रणालीको प्रवेशले बजारलाई चलायमान र द्रुत गति प्रदान गरेको छ । आगामी दिनमा यो गति अझै तिब्र बनेर जाने देखिन्छ । 

यस प्रणालीमा लगानीकर्ताले वेभसाइटवाट सहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने, निष्काशन भएको धितोपत्र निष्काशन भएको मितिले बढीमा २० दिनको समयावधि भित्र बाँडफाँड गरिसक्नुपर्ने व्यवस्था रहेको छ । आस्बा सेवाले ७५ जिल्लाबाटै प्राथमिक निष्काशन आईपीओ तथा थप नयाँ साधारण सेयर भर्न सकिने सुविधा प्रदान गरेको छ । विगत जस्तो संकलन केन्द्रको अभावमा विशेषगरी काठमाडौं उपत्यका बाहिरका लगानीकर्ता सेयर आवेदनबाट बञ्चित हुनु पर्दैन । 

आस्वा प्रणालीमा सहभागी अन्य विकास वैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र खरिद सार्वजनिक निष्कासन (आस्वा) मा अनलाइन मार्फत दरखास्त लिने व्यवस्था सुरु गरेका छन् । 

अनलाईन आस्वा प्रणालीबाट कसरी गर्ने सकिन्छ आवेदन ?

अनलाईन आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा तपाईले धितोपत्र बोर्डबाट निक्षेप सदस्य लिएका कुनैपनि निक्षेप सदस्यकहाँ सेयर अभौतिक रुपमा जम्मा गर्ने खाता (डिम्याट एकाउन्ट) खोलेको हुनुपर्छ भने आवेदन गर्ने बैंकमा आवेदन गर्ने मौजात रकम समेत बैंक हुनु आवश्यक पर्दछ । 

यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । अनलाइन सेवा नलिएका सेवाग्राहीले नजिकको कुनै पनि शाखामा सम्पर्क गरि अनलाइन बैंकिङको सेवा माग गर्न सक्नेछन् ।

यी बैंकमा खाता भएका सेवाग्राहीले अनलाइन बैंकिंग सुविधा लिएर यो प्रणालीबाट घरमा बसी बसी सेयर आवेदन गर्न सक्नेछन् । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ ।

सेयर आवेदनमा सुरु भएको यो प्रयोगले लगानीकर्ताकै बैंक खातामा जम्मा रहेको रकमको व्याजको ग्यारेण्टी त गरेको छ नै घरमै बसेर इन्टरनेटको सहायताले सेयरमा आवेदन गर्न लगानीकर्ताहरुलाई निकै सहज बनाएको छ । बैंकहरुले अनलाइन आस्बा र अनलाइन डिम्याटलाई स्तरोन्नती गरी आस्बा अनलाइनको मोवाईल एम्प्लीकेसन समेत विकास गर्ने योजना बनाईसकेका छन् । 

केन्द्रिय निक्षेप प्रणालीले गरेको अनिवार्य व्यवस्था अनुसार प्रभु बैंकले मेरोसेयरबाट अनलाइन आस्बा सुरु गरेको हो । आगामी दिनमा निक्षेप सदस्यको समेत काम गर्ने सबै बैंक तथा वित्तीय संस्थाले यसै प्रणालीबाट सीआस्बा सेवा उपलब्ध गराउने छन् ।

अनलाइन आस्बा दिने बैंकको प्रणालीमा जान निम्न लिंक्समा क्लिक गरेर जानुहोस् ।

(श्रोत: मेरोलगानी ; २०७४ साल साउन ३० सोमबार)
यो पनि पढ्ने कि !

No comments:

Post a Comment

AddToAny