Saturday, August 19, 2017

लौ हेरौं नेपाल क्रेडिट एण्ड कर्मश बैंक (NCCB) को आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा प्रगति - खुद नाफा ८७.३०%ले छलांग मार्दै अर्बपति क्लबमा !

नेपाल क्रेडिट एण्ड कर्मश बैंक लि. (Nepal Credit And Commercial Bank Ltd, NCCB) पनि चालु आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक वित्तीय प्रतिवेदन तथ्याँक प्रकाशित गरेको छ । बैंकले यस त्रैमासमा खुद नाफा ८७ दशमलव ३० प्रतिशतले बढाएर एक अर्ब ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी यो बैंक पनि अब अर्ब कमाउने बैंकको सूचिमा उक्लिएको छ ।

ShareUpdateNepal

नाफामा छलांग मारे पनि यो बैंकले नाफा भन्दा बढी रकम प्रोभिजनबाट फिर्ता ल्याएको देखिन्छ । संभावित जोखिम व्यवस्थापनका लागि प्रोभिजनमा राखेको एक अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यही कारण नाफामा यति ठूलो प्रगति देखिएको हो । बैंकको संचालन नाफामा भने निकै ठूलो गिरावट आएको छ । अघिल्लो वर्ष यो अवधिमा ७४ करोड ७० लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा ४० करोड ६५ लाखमा सीमित बन्न पुुगेको हो ।

चारवटा साना कम्पनीलाई गाभेको यो बैंकको कर्मचारी खर्च ३० करोड ९८ लाखबाट वृद्धि भई ४७ करोड ४३ लाख पुुगेको छ भने अन्य संचालन खर्चमा पनि डर लाग्दो गरी वृद्धि भएको छ । अघिल्लो वर्ष २३ करोड ४२ लाख रहेको अन्य संचालन खर्च वृद्धि भई यो वर्ष ४१ करोड ८१ लाख पुुगेको हो ।

विदेशी मुद्रा कारोबारतर्फ समेत यो बैंकको प्रगति कमजोर बनेको छ । अघिल्लो वर्ष पाँच करोड २४ लाख विदेशी मुद्राको कारोबारबाट आर्जन गरेको बैंकले समीक्षा अवधिमा तीन करोड ७० लाखमा सीमित बन्न पुुगेको छ ।

समीक्षा अवधिमा बैकको खुद ब्याज आम्दानीमा पनि ४४ दशमलव ७९ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकले एक अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष यो रकम बढेर एक अर्ब ७२ करोड २१ लाख रुपैयाँ पुगेको छ । चारवटा कम्पनीको व्यवसाय थपिँदा ब्याज आम्दानीतर्फको यो प्रगतिलाई औसत मात्र मान्न सकिन्छ ।

यो अवधिमा बैंकले ५८ अर्ब ७९ करोड निक्षेप संकलन गरी ४८ अर्ब १७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३० अर्ब ३६ करोड निक्षेप संकलन गरी २४ अर्ब ८९ करोड कर्जा परिचालन गरेको थियो । बैंकले जगेडा कोष तर्फ भने राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षसम्म एक अर्ब ३१ करोड रहेको कोषको आकार बढेर समीक्षा अवधिमा दुई अर्ब ५६ करोडको उचाई चुमेको छ । बैंकले निक्षपमा पनि ९३ दशमलव ६३ प्रतिशतको वृद्धि गरि ५८ अर्ब ७९ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ ।

बैंकमा समीक्षा अवधिमा खराब कर्जाको भने थुप्रो लागेको छ । अघिल्लो वर्ष शून्य दशमलव ९१ प्रतिशत रहेको खराब कर्जा बढेर यो वर्ष चार दशमलव ८० प्रतिशत पुुगेको हो । खराब संस्थाहरु गाभ्दाको परिणाम यो बैंकका लागि निकै महंगो पर्न सक्ने देखिन्छ । 

हाल यो बैंकको चुक्ता पूँजी चार अर्ब ६८ करोड पुुगेको छ । बैंकले चालु आर्थिक बर्षमा विभिन्न संस्था मर्जरबाट दुई अर्ब ३३ करोड चुक्ता पुँजी थप गरेको हो । मर्जरबाटै चुक्ता पुँजी बढाए पनि बैंकको इपीएस भने दुई रुपैंया घटेर २८ रुपैंयामा आइपुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी वाषिर्क २८ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ एक एक सय ५४ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात १३ दशमलव ५१ गुुणा कायम रहेको छ भने वैद्यानिक तरलता अनुपात २५ दशमलव १२ रहेको छ ।

अन्य बैंकहरुको तुलनामा बैंकको प्रगति खासै नभए पनि यसअघि विभिन्न समस्या झेल्दै आएको एनसीसीले पछिल्लो त्रैमासमा गरेको प्रगति भने उल्लेख्य हो । यद्यपि बैंकको निष्क्रिय कर्जा अनुपात भने अझै बढेको छ । मर्जरबाटै चुक्ता पुँजी बढ्दा पनि इपीएस घट्नु र अघिल्लाे बर्ष र त्रैमासभन्दा पनि बढी एनपीएल हुनु भने राम्राे हाेइन ।

ShareUpdateNepal

यस बैंकको चौथो त्रैमास आर्थिक विवरणहरु हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
सेयरअपडेटनेपाल: शनिबार ३ भदौ २०७४

यो पनि पढ्ने कि !

No comments:

Post a Comment

AddToAny