Friday, June 9, 2017

साढे २० अर्बको हकप्रद शेयर आउँदै, कस्तो पर्ला बजारमा असर ?


शेयर बजारमा छोटोसमयभित्रमा २० अर्ब ५१ करोड नौ लाख ९२ हजार ६०० रुपैयाँको २० करोड ५१ लाख नौ हजार ९२६ कित्ता शेयर आउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पूँजी वृद्धिका लागि तोकिएको समयसीमा करिब एक महिना बाँकी छँदा अझै २० अर्बभन्दा बढीको हकप्रद शेयर आउने देखिएको छ ।

पूँजी वृद्धिका लागि नियामक निकाय धितोपत्र बोर्डबाट हकप्रद निष्काशनका लागि अनुमति प्राप्त गरेका र अनुमतिका लागि बोर्डमा आवेदन दिन पुगेका ३३ कम्पनीको यो परिमाणमा शेयर आउने भएको हो । जसमध्ये १३ कम्पनीले हकप्रद निष्काशनका लागि बोर्डबाट स्वीकृत पाइसकेका छन्, भने बाँकी २० कम्पनी स्वीकृतीको पर्खाइमा रहेका छन् ।

हकप्रद निष्काशनको लाईनमा बसेका कम्पनीहरुमा माछापुच्छे, एभरेष्ट र प्रभु गरी तीन वाणिज्य बैंक रहेका छन् । जसमध्ये एभरेष्ट बैंक र माछापुच्छे बैंकले हकप्रद निष्काशनका लागि बोर्डबाट अनुमति प्राप्त गरिसकेका छन्, भने प्रभु बैंक हकप्रद निष्काशनको स्वीकृतीको पालो कुरेर बसेको छ ।

एभरेष्ट बैंकले ३ बराबर १ अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । गत आर्थिक वर्षको कमाईबाट ७० प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैयाँ पुर्याएको बैंकले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । बैंकले पूँजीवृद्धिका लागि आईसिएफसि फाइनान्स एक्वाएर गर्ने पनि चर्चा चलेको छ ।

माछापुच्छ्रे बैंकले पनि १२ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै प्रभु बैंकले पनि पूँजी वृद्धिका लागि ४० प्रतिशत हकप्रद निष्काशनका लागि वैशाख ८ गते धितोपत्र बोर्डमा पुगेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा दुई अर्ब ३५ करोड २५ लाख ६० हजार आठ सय रुपैयाँको शेयर निष्काशन गर्ने भएको हो ।


त्यस्तै माइक्रोफाइनान्स सहित १८ विकास बैंक, तीन फाइनान्स कम्पनी, दुई जलविद्युत कम्पनी र एकमात्रै उत्पादन तथा प्रशोधन समूहको श्रीराम सुगरमिलले हकप्रद निष्काशन गर्न लागेका हुन् ।

धितोपत्र बोर्डमा यतिबेला करिब दुई दर्जन अर्थात २० कम्पनीले १० अर्ब रूपैयाँभन्दा बढीको हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।


पूँजीवृद्धिका लागि दिइएको समयसीमा घर्किदै जाँदा बैंक तथा वित्तीय संस्था हकप्रदको भारी लिएर धितोपत्र बोर्ड पुग्ने क्रम जारी नै छ । पूँजी वृद्धिका लागि मर्ज, एक्विजिशन, हकप्रद, बोनस, थप नयाँ शेयर निष्काशन लगायतका उपायहरु अपनाएका बैंकहरुले थोरैले मर्जबाट पूँजी पुर्याए पनि धेरैले हकप्रद निष्काशनमा नै बढी जोड दिएको देख्न सकिन्छ । कतिपयले बोनस शेयरबाट पनि पूँजी पुर्याउने तयारीमा छन् ।

पछिल्लो समय दोश्रो बजार निरन्तर जस्तै ओरालो लाग्ने क्रममा रहेको छ । एकाध दिनलाई छोडेर हेर्दा अधिकांश दिन बजार गिरावटको स्थितीमा देखिएको छ । एकातिर बजारमा तरलता अभाव हुँदा वाणिज्य बैंकले नै घोषित १२ प्रतिशत र अघोषित रुपमा १५ प्रतिशतसम्म ब्याज दिएर निक्षेप तान्ने र अर्कोतिर हकप्रदको बाढीले बजारमा कस्तो प्रभाव पर्ला सोचनिय विषय बनेको छ । के बजारले यो परिणामको हकप्रद धान्न सक्ला ?

श्रोत: आर्थिक न्यूज, २०७४ साल जेष्ठ २७ गते शनिबार !

कुन कुन हुन् त हाल हकप्रद निष्काशन भैरहेका ८ कम्पनीहरु ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुस !

No comments:

Post a Comment

AddToAny