Sunday, June 4, 2017

बीमा कम्पनीको शेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ जीवन बीमा कम्पनीको पछिल्लो अवस्था !

बजारमा बीमा कम्पनीहरु (INSURANCE COMPANIES) को शेयरप्रति लगानीकर्ताको निकै चासो रहेको हुन्छ । त्यसमा पनि छोटो समयमा शेयर खरिदबिक्री गरेर आफ्नो आम्दानी बढाउने लगानीकर्ता पनि बीमा कम्पनीको शेयरप्रति आकर्षण देखिन्छन् । त्यसमा पनि बीमा समितिले बीमा कम्पनीहरुको पूँजी चार गुणाले बढाउने निर्देशन दिएसँगै यसप्रति लगानीकर्ता थप आकर्षित देखिन्छन् । यस्तैमा आज हामी नेपालमा सञ्चालित जीवन बीमा कम्पनीको पछिल्लो अवस्था केलाउने प्रयास गरेका छौं ।


खुद मुनाफा चुक्ता पूँजी
आर्थिक वर्ष २०७३/७४ को प्रकाशित तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरु मध्ये खुद मुनाफा हेर्दा सबैभन्दा उत्कृष्ट नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । ४० करोड ९६ लाख रुपैयाँ खुद मुनाफामा कमाएको नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी पनि सबैभन्दा बढी ३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ रहेको छ । त्यस्तै खुद मुनाफा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ६६ लाख रुपैयाँ मात्र कमाएको छ । जसको चुक्ता पूँजी पनि सबैभन्दा कम ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी मुनाफा सुर्य लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय ६२ दशमलव ७५ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको २० दशमलव ९१ प्रतिशतले गिरावट आएको छ ।

जगेडाकोष, जीवन बीमाकोष र आम्दानी
जीवन बीमा कम्पनीहरुमध्ये जगेडाकोषमा, बीमा कोष र आम्दानीमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जगेडाकोषमा सबै भन्दा बढी ४ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ, बीमाकोषमा ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ र आम्दानी ५४ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा सबैभन्दा कम एशियन लाइफ इन्स्योरेन्सको १७ करोड ७४ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा सबैभन्दा कम सुर्य लाईफ इन्स्योरेन्सको २ अर्ब १४ करोड ५ लाख रुपैयाँ रहेको छ । आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको १ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

प्रिमियम संकलन र जारी बीमालेख संख्या
बीमा कम्पनीहरुको खुद मुनाफा बढ्नु र घट्नुमा प्रिमियम संकलनको प्रमुख भूमिका रहने गर्दछ । नेपाल लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी खुद प्रिमियम संकलन ७ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ, जम्मा प्रिमियम संकलनमा पनि सबैभन्दा बढी ४८ अर्ब १० करोड १३ लाख रुपैयाँ र जारी बीमालेख संख्या १० लाख २४ हजार ६ सय ४२ वटा रहेको छ । तेस्रो त्रैमासमा सबैभन्दा कम खुद प्रिमियम गुराँस लाईफ इन्स्योरेन्सको ७० करोड १० लाख रुपैयाँ र बीमा लेख संख्यामा १ लाख ५४ हजार ७७ वटा रहेको छ । जम्मा प्रिमियम संकलनमा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

दाबी भुक्तानी र दाबी भुक्तानी संख्या
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद दाबी भुक्तानीको आधारमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानको २ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको ६ करोड ८५ लाख रुपैयाँ रहेको छ । त्यस्तै जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । जसको जम्मा दाबी भुक्तानी १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ र दाबी भुक्तानी संख्या १७ हजार ८ सय ९५ वटा रहेको छ । जम्मा दाबी भुक्तानी र दाबी भुक्तानी संख्यामा सबैभन्दा कम सुर्य लाइफ इन्स्योरेन्सको १ लाख रुपैयाँ र ५ सय ७४ वटा रहेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र बजार मूल्य
तेस्रो त्रैमासमा लाइफ इन्स्योरेन्स कम्पनीमा प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सको २९ दशमलव ३५ रुपैयाँ र २६५ दशमलव ७५ रुपैयाँ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानीमा सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानको ४ दशमलव ९१ रुपैयाँ भने प्रतिशेयर नेटवर्थमा लाइफ इन्स्योरेन्सको १२५ दशमलव ७२ रुपैयाँ रहेको छ ।

प्रतिशेयर बजार मुल्यको आधारमा सबै भन्दा बढी लाइफ इन्स्योरेन्सको २ हजार १ सय ७० रुपैयाँ र सबैभन्दा कम गुराँस लाइफ इन्स्योरेन्सको १ हजार २ सय २५ रुपैयाँ रहेको छ ।

श्रोत: आर्थिकन्यूज, जेष्ठ २० गते शनिबार ।

No comments:

Post a Comment

AddToAny